मिराज ढुङ्गना भन्छन् दल खोल्नुको अर्थ चुनावमा जानु होइन, क्लियर होस् भन्ने हो

मिराज ढुङ्गना भन्छन् दल खोल्नुको अर्थ चुनावमा जानु होइन, क्लियर होस् भन्ने हो Ramaroshan
२०८२ कार्तिक ०२ गते
मिराज ढुङ्गना भन्छन् दल खोल्नुको अर्थ चुनावमा जानु होइन, क्लियर होस् भन्ने हो

काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ छ ।

‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो क्लियर होस्,’ उनले भनेका छन् ।

हुलमुल मात्रै भएर देशको विकास नहुने जिकिर गर्दै उनले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताए ।

‘आधिकारिक हुनका लागि भिड भएर देश विकास हुँदैन । कि त मैले एनजीओ खोल्नुपर्‍यो, कि त राजनीतिक दल हुनुपर्‍यो । नत्र हुलमुल मात्रै हुन्छ । हुलमुल नै भएर देश विकास गर भन्न त भएन,’ ढुंगानाले भने, ‘म सबै जनालाई आउनुस् भन्छु । हाम्रो छाता ठूलो छ । यो खालको क्रान्ति धेरै समयपछि आउने कुरा भयो ।’

उनले सबै बाहिर भएका समूहरूलाई संगठित भएर अघि बढ्न पनि आग्रह गरे ।

‘बटमलाइन पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं । गर्दैनौं,’ ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो । जसलाई सुन्नैपर्छ ।’

उनले थप भने, ‘विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्छ । ३ करोडमा ८० लाखलाई छुटाएर हुन्छ ? त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाड्न हुँदैन । यो नभइ पनि हामी निर्वाचनमा जानेवाल नै छैनौं ।’