इजरायलमा मारिएका नेपाली विद्यार्थी जोशीको शव नेपाल ल्याइँदै

इजरायलमा मारिएका नेपाली विद्यार्थी जोशीको शव नेपाल ल्याइँदै Ramaroshan
२०८२ कार्तिक ०४ गते
इजरायलमा मारिएका नेपाली विद्यार्थी जोशीको शव नेपाल ल्याइँदै

काठमाडौँ।नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ।

आइतबार दिउँसो इजरायली परराष्ट्रमन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ।

सो क्रममा इजरायलमा रहेका नेपाली समुदाय, विपिनलाई आश्रय दिएको किबुज समुदायले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।उहाँको शव फ्लाइ दुबईमार्फत सोमबार दिउँसो २:२० बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने र त्यसपछि अन्त्येष्टिका लागि उहाँको परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ।

इजरायल हमासबिच चलेको दुई वर्ष लामो युद्धविरामपछि हमासद्वारा बन्धक बनाइएका जीवितलाई छोडिएसँगै बन्धक अवस्थामै मारिएकामध्ये केहीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो।

सोही क्रममा पहिलो चरणमा हस्तान्तरण गरिएका चार जनाको शवमध्ये जोशीको पनि इजरायली सरकारलाई हस्तान्तरण गरिएको थियो।सन् २०२३ अक्टोबर ७ को बिहानीमा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा हमासद्वारा बन्धक बनाएर लगिएका विपिन उतै मारिएको समाचार दुई वर्षपछि सार्वजनिक भएको थियो ।

यसबिचमा विपिनका परिवार र नेपाल सरकारले उहाँका सकुशल रिहाइका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्च पुगेर निकै पहल गरेका थिए।२३ वर्षीय जोशी इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोग (मसाभ) अन्तर्गत सिक र कमाऊ कार्यक्रम अन्तर्गत कृषि विषयमा अध्ययन गर्न र कमाउन त्यहाँ आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र इजरायल पुग्नुभएको थियो।

उहाँ इजरायलको किबुज एलुमिममा रहेर कामसँगै अध्ययन गरिरहनुभएको थियो।७ अक्टोबर २००३ मा हमासले सोही किबुज पसेर अचानक आक्रमण गर्दा उहाँसँगै रहेका अन्य १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।घाइते भएका छ जनाको उपचारपछि नेपाल फर्काइएको थियो।उहाँलाई भने हमासले बन्धक बनाएर आफूसँगै गाजापट्टी लगेका थिए।