कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नति

कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नति Ramaroshan
२०८२ कार्तिक ०४ गते
कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नति

धनगढी । कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नतिको काम सकिएको छ । कुल ९५.७ किलोमिटर रहेको यो जिल्लामा करिब ७० किलोमिटर स्तरोन्नतिको काम सकिएको हो । आर्थिक वर्ष २०७७/७८ बाट हुलाकी राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेन हुने गरी कालोपत्रे गर्ने कार्य जारी रहेको छ । 

पूर्वपश्चिम जोड्ने सत्ती–भजनी–धनगढी हुलाकी राजमार्ग ६६ किलोमिटर रहेकोमा हालसम्म ५२ किलोमिटरमा काम पूरा भएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यो खण्डको हसुलियादेखि कटैनी पुलसम्मको सातौँ र भजनीको ठेकीपुर पुलदेखि आठौँ प्याकेजमा काम बाँकी रहेको छ । हसुलियादेखि कटैनीसम्म दुई किलोमिटरमा ब्ल्याकटप र सबबेसको काम भइरहेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर गणेशबहादुर बुढाले जानकारी दिनुभयो । यो खण्डमा स्वच्छन्द जेभीले काम गरिरहेको छ । 

ठेकीपुरदेखिको खण्डमा ब्ल्याकटपको काम बाँकी रहेको छ । कालिका–जोशी जेभीले यस खण्डमा ठेक्का पाएको छ । यसै गरी उत्तर–दक्षिण जोड्ने लम्की–टीकापुर–खक्रौला २९.७ किलोमिटर हुलाकी राजमार्गमा आधाभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म १७.५ किलोमिटरमा कालोपत्रेको काम भइसकेको छ । अन्तिम प्याकेजमा काम भइरहेको जनाएको छ । यस वर्ष हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य पूरा हुने बुढाले बताउनुभयो । चालु आवमा हुलाकी राजमार्गका लागि ४० करोड बजेट आएको छ । यस वर्ष काम गर्नका लागि बजेटको समस्या नरहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।