विपिनको शव आजै कञ्चनपुर ल्याइने

विपिनको शव आजै कञ्चनपुर ल्याइने Ramaroshan
२०८२ कार्तिक ०४ गते
विपिनको शव आजै कञ्चनपुर ल्याइने

धनगढी । इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर ल्याइने भएको छ । विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी ल्याउने तयारी छ ।

धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ । विपिनको शव बोकेको विमान आज दिउँसो २ः३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।