भजनीलाई मदन भण्डारी कप उपाधि
धनगढी ।कैलालीको घोडाघोडी नगपालिका–१०, पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।
सोमबार साँझ सम्पन्न फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोलले हरायो । पहिलो हाफमा गोलरहित खेल भएपनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जितेको हो ।
विजेता मदन भण्डारी स्पोट्स एकेडेमी भजनीले ५२ हजार दुई सय ५०रुपियाँ नगदसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपियाँमा चित्त बुझाएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो ।
समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले विजेता समुहलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गर्नुभयो ।
समापन समारोहमा घोडाघोडी नगरपालिकाका संस्थापक नगर प्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेल प्रेमी, सङ्घसंस्था र नागरिकको उत्साहपूर्ण सहभागिता रहेको थियो । समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

