सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण मंसिर २२ देखि धनगढीमा हुने

सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण मंसिर २२ देखि धनगढीमा हुने Ramaroshan
२०८२ कार्तिक १७ गते
सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण मंसिर २२ देखि धनगढीमा हुने

धनगढी । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण मंसिर २२ देखि धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग र व्यापार विस्तारका साथै संस्कृति तथा कलाको प्रवद्र्धन गर्ने उद्देश्यसहित सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण आगामी मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष जस्तै यस वर्ष पनि धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सव सञ्चालन गर्न लागिएको हो।

सुदूरपश्चिमको समग्र विकासका सम्भावनालाई उजागर गर्दै आर्थिक तथा सामाजिक रुपमा प्रतिकूल अवस्थाबाट गुज्रिरहेका व्यवसायलाई पुनःस्थापित गर्न यो महोत्सव उपयोगी हुने अपेक्षा गरिएको छ।

महोत्सवमा व्यवसायिक कृषि प्रदर्शनी, कृषिमा आएको नयाँ प्रविधिको प्रदर्शन र त्यसलाई व्यवसायसँग जोड्ने विषयमा विशेष जोड दिइने भएको छ। साथै, सुदूरपश्चिमको कला, संस्कृति र लोक परम्पराको संरक्षण गर्दै योगदान दिने स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइने संघले जनाएको छ।

५०० भन्दा बढी स्टलहरू रहने

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधि लगायतका क्षेत्रमा गरी करिब ५०० स्टल रहनेछन्।
त्यसमध्ये ४० कृषि स्टल, १५ महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका गरी जम्मा ५५ स्टल निःशुल्क प्रदान गरिने भएको छ।
स्थानीय व्यवसायीहरूलाई प्राथमिकता दिइनेछ भने कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नियमानुसार नविकरण भएका सदस्यहरूलाई विशेष छुट र सहुलियत उपलब्ध गराइनेछ।

महोत्सवमा करिब ३ करोड रुपैयाँको लगानी हुने र १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ। साथै करिब ७ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव अवलोकनका लागि विद्यार्थी र खेलाडीका लागि टिकट दर रु. ५०, सर्वसाधारणका लागि रु. १००, र ज्येष्ठ नागरिक तथा फरक क्षमता भएकाहरूका लागि निशुल्क प्रवेश व्यवस्था गरिएको छ।