धनगढीको मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढीको मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ Ramaroshan
२०८२ कार्तिक २० गते
धनगढीको मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढी ।कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । 

पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो । धनगढी–७, देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दुरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन् । तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ । बोटिङ, घुमफिर गर्न र तालको बिच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ । 

१.०८ हेक्टर क्षेत्रफल रहेको यो तालमा पर्यापर्यटनसम्बन्धी गतिविधि सञ्चालनका लागि मनहेरा सामुदायिक वन उपभोक्ता समूहले वनकै उपभोक्ता लोकेन्द्र विष्टलाई ठेक्कामा दिएको छ । सामुदायिक वनको भेलाले गरेको निर्णय अनुसार ठेक्कामा ताल दिएको मनहेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष मोती रानाले बताउनुभयो । “उपभोक्तामध्येका कसैले तालमा पर्यटन गतिविधि सञ्चालन गरेमा प्राथमिकताका साथ उसलाई दिने वनको भेलामार्फत निर्णय भएको थियो,” उहाँले भन्नुभयो, “त्यसपछि म गर्छु भनेर उपभोक्तामध्येकै एक भाइ अगाडि बढ्नुभयो । हामीले उहाँलाई दियौँ ।”

तालवरिपरि ब्लक राखेर पदमार्ग बनाइनुका साथै तालको बिच भागमा जानका लागि पुल निर्माण गरिएको छ । राष्ट्रपति चुरे संरक्षण बोर्ड र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइबाट बजेट माग गरेर तालवरिपरि व्यवस्थापन गरेको अध्यक्ष रानाले बताउनुभयो । “पुललगायतका अरू संरचनाहरू भने ठेक्का प्राप्त गर्नेले आफ्नै लगानीमा निर्माण गर्नुभएको छ,” उहाँले थप्नुभयो, “नजिक रहेका कारण घुमघाम गर्नेको भिडभाड हुन्छ ।”

सरकारको २० प्रतिशत र आफ्नो व्यक्तिगत ८० प्रतिशत लगानीमा व्यवस्थापन र संरचना निर्माण गरेर तालमा पर्यापर्यटनको गतिविधि अगाडि बढाएको सञ्चालक विष्टको भनाइ छ । उहाँले आठ महिनासम्म वनसम्बन्धी ऐन र नियमावली अध्ययन गरेर मात्रै आफूले यसमा हात हालेको भन्दै थप्नुभयो, “अझै निर्माणाधीन अवस्थामा छ । औपचारिक रूपमा उद्घाटन भएकै छैन । टिकट छापेकै छैन । जाखोर ताल बन्द भएर मान्छे यता आउन थालेपछि दसैँदेखि मैले सञ्चालनमा ल्याएको हुँ ।”