पार्टीलाई नयाँ सोच र आत्मसुधारको बाटो रोज्न काँग्रेस केन्द्रिय सदस्य रावलको आग्रह

पार्टीलाई नयाँ सोच र आत्मसुधारको बाटो रोज्न काँग्रेस केन्द्रिय सदस्य रावलको आग्रह Ramaroshan
२०८२ कार्तिक २० गते
पार्टीलाई नयाँ सोच र आत्मसुधारको बाटो रोज्न काँग्रेस केन्द्रिय सदस्य रावलको आग्रह

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावलले पार्टीलाई नयाँ सोच र आत्मसुधारको बाटो रोज्न आग्रह गरेका छन ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति, जेन्जी आन्दोलन, पार्टी सुधार र भावी रणनीतिसम्बन्धी धारणा प्रस्तुत गर्दै उनले सो आग्रह गरेका हुन ।

बैठकमा उनले भदौ २३–२४ का घटनामा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सभापति शेरबहादुर देउबा र परराष्ट्रमन्त्री डाक्टर आरजु देउवा माथि भएको आक्रमणको तीव्र निन्दा गरे । उनले त्यस क्रममा पार्टी कार्यालयहरू, ऐतिहासिक भवनहरू र मूर्तिहरूमाथि भएको आक्रमणलाई ‘लोकतान्त्रमाथिको प्रहार’ भन्दै गम्भीर आपत्ति जनाए ।

डाक्टर रावलले भने, ‘नेपाल अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपमा गहिरो संक्रमणमा छ । जनताको मुख्य असन्तोष केवल अस्थिरता होइन, प्रणालीप्रतिको विश्वास हराउनु हो ।’

उनका अनुसार, भ्रष्टाचार, गुटबन्दी, नातावाद र अकर्मण्यताले जनताको लोकतान्त्रिक विश्वास कमजोर बनाएको छ ।

डाक्टर रावलले २०८२ को जेन्जी आन्दोलनलाई नेपालको राजनीतिक संस्कृतिमा आएको चुनौतीको रूपमा व्याख्या गर्दै भने –‘यो आन्दोलन कांग्रेसका लागि खतरा होइन, पुनर्जागरणको अवसर हो ।’

उनका अनुसार, आन्दोलनको आत्मा ‘भ्रष्टाचारमुक्त देश, पारदर्शी शासन र समान अवसर’ मा केन्द्रित छ, जसलाई कांग्रेसले आत्मसात गर्न जरुरी छ ।’

डाक्टर रावलले पार्टी सुधारका लागि पाँच प्रमुख दिशा प्रस्तुत गरे । युवाको वास्तविक सहभागिता, पार्टीको नीति निर्माण तहमा नयाँ पुस्ताको निर्णायक भूमिका सुनिश्चित गर्न, डिजिटल पारदर्शिता– निर्णय, खर्च र निर्वाचन प्रक्रिया सार्वजनिक गर्दै सामाजिक सञ्जाललाई संवादको माध्यम बनाउने’ उल्लेख छन ।

उनले रोजगारी र शिक्षा–अर्थनीति सुधारका लागि शिक्षा, उद्योग र नवप्रवर्तन जोड्ने नीति अपनाउन सुझाव दिए ।

डाक्टर रावलले नेपाली कांग्रेसले अब ‘सफा पार्टी, सक्षम सरकार’ भन्ने नारा अघि बढाउनुपर्ने बताए । उनका अनुसार पार्टीले अब लोकतान्त्रिक संस्थाको संरक्षण, गुटबन्दी अन्त्य, नयाँ पुस्तालाई अवसर, सुशासन र आर्थिक समानताको नीति, गाउँ–नगर स्तरसम्म संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

डाक्टर रावलले पार्टीले अब तुरुन्त निर्णय लिनुपर्ने तीन मुख्य विषय उल्लेख गरे । उनका अनुसार विशेष वा नियमित महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने, आम निर्वाचन वा संसद पुनस्र्थापनाका लागि दुबै विकल्पमध्ये एउटा स्पष्ट निर्णय लिनुपर्ने, एकता र जनसंगठन पुनर्जीवनलाई वडा तहसम्म पार्टी पुनर्संरचना अभियान सुरु गर्नुपर्ने बताए ।