सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् ‘यो मुलुकलाई देउवाको खाँचो छ’

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् ‘यो मुलुकलाई देउवाको खाँचो छ’ Ramaroshan
२०८२ कार्तिक २३ गते
सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् ‘यो मुलुकलाई देउवाको खाँचो छ’

 धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम बासिलाई, डडेल्धुरा बासीलाई यो मुलुकलाई शेरबहादुर देउवाको खाँचो रहेको बताएका छन् । बिहीबार डडेल्धुरा जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरू सँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

मुख्यमन्त्री शाहले डडेल्धुरालाई देशको पवित्र भूमि रहेको बताउँदै उक्त भूमिले देशको पाँच–पाँच पटक नेतृत्व लिने शेरबहादुर देउवा जस्ता व्यक्तित्वलाई जन्म दिएको बताए । उनले भने ‘शेरबहादुर देउवाले सधैँ जनताको अधिकारका लागि अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्नुभयो। विगतका आन्दोलनहरूमा ज्यानमाथि खतरा आइरहँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन।’

मुख्यमन्त्री शाहले आफू सरकार र संविधान छँदै छ भन्ने सन्देश दिन प्रदेशका विभिन्न जिल्लामा उपस्थित भइरहेको बताए । उनले भने ‘जेन्जी आन्दोलन अकल्पनीय थियो। हामी सबैले आ–आफ्नो ठाउँबाट सच्चिनु जरुरी छ।’राजनीतिक र प्रशासनिक नेतृत्वबिच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुने विश्वास मुख्यमन्त्री व्यक्त गरे ।

आफूले वाचा गरेअनुसार प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेको र त्यसको केही समयपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आफ्नो प्रमुख नीति भएको बताए ।