कैलालीमा ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने गरी क्षति

कैलालीमा ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने गरी क्षति Ramaroshan
२०८२ कार्तिक २४ गते
कैलालीमा ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने गरी क्षति

 धनगढी । कैलालीमा ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएकामध्ये ११ भवन प्रयोग गर्न नमिल्ने ठहर गरिएको हो । 

प्रयोग गर्न नमिल्ने भवनमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले रातो स्टिकर टाँस गरेको छ । सो कार्यालयका अनुसार प्रदेश प्रमुखको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कैलाली जिल्ला अदालत, त्रिनगर भन्सार कार्यालयको भवनमा प्रयोग गर्न नमिल्ने गरी क्षति भएका छन् । यसै गरी आन्तरिक राजस्व कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयलगायतका कार्यालयको भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएकको छ । प्रयोग गर्न नमिल्ने भवनका भुइँ तलामा क्षति पुगेको, पिलर जलेको, चर्किएको, पिलर बाङ्गिएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर सन्तोष जेठाराले जानकारी दिनुभयो । 

भवन निर्माण कार्यालयले जिल्ला कारागारको कार्यालय, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, राष्ट्रिय अनुसन्धानको कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, सडक डिभिजनको कार्यालय भवनलाई आंशिक क्षतिको सूचीमा राखेको छ । यसै गरी नापी कार्यालय, मालपोत कार्याय, जनताको तटबन्ध कार्यक्रमको साइट कार्यालय, इलाका प्रशासन कार्यालय सुखडको भवनमा पनि आंशिक क्षति भएको जनाइएको छ । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कैलालीमा १३७ भवनमा आगजनी गरिएको थियो । सरकारी कार्यालयका भवन १०३, राजनीतिक दलका पार्टी कार्यालय भवन १७, सर्वसाधारणको निजी भवन १२ र प्रहरी कार्यालयको पाँच भवनमा आगजनी गरिएको थियो ।