१४ वर्षअघि सुरु भएको सेती राजमार्गको १४६ किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी

१४ वर्षअघि सुरु भएको सेती राजमार्गको १४६ किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी Ramaroshan
२०८२ कार्तिक २६ गते
१४ वर्षअघि सुरु भएको सेती राजमार्गको १४६ किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी

धनगढी । १४ वर्षअघि सुरु भएको सेती राजमार्गको १४६ किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी छ । कैलालीको टीकापुरदेखि बझाङको ताक्लाकोटसम्म ३५९ किलोमिटरमध्ये २१३ किलोमिटर सडकको मात्रै ट्र्याक खोलिएको छ । भारतीय बजार तिकुनिया नाकाबाट कैलालीको टीकापुर–ताक्लाकोट, बझाङ हुँदै चीनसम्म पुग्ने त्रिदेशीय मार्गले सुदूरपश्चिमको जीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिए पनि निर्माणमा भएको ढिलाइले चिन्ता बढाइरहेको हो ।

आर्थिक वर्ष २०६६/६७ मा घोषणा गरिएको सेती राजमार्गको काम केही वर्ष सुस्त गतिमा चले पनि २०७४/७५ देखि कैलालीबाट बाजुरासम्म सडक बनाउन अछामको साँफेबगरमा दक्षिण खण्ड कार्यालय र बझाङको चैनपुरमा उत्तर खण्ड कार्यालय स्थापना गरेर काम भइरहेको छ । १६ अर्ब रुपियाँको अनुमान गरिएको दक्षिण खण्डमा पछिल्लो आठ वर्षमा एक अर्ब २५ करोड रुपियाँ खर्च भएको छ ।

“कैलालीमा ७२ किलोमिटर, डोटीमा छ किलोमिटर, अछाममा ६० किलोमिटर गरी १३८ किलोमिटर ट्र्याक खुलेको छ भने ६६ किलोमिटर बाँकी छ,” सेती राजमार्गको दक्षिण खण्ड कार्यालय साँफेबगरका सूचना अधिकारी इन्जिनियर केशवदत्त मिश्रले भन्नुभयो, “चालु वर्षमा २५ करोड ५९ लाख रुपियाँ बजेट विनियोजन भएको छ, डोटीमा पर्ने ४० किलोमिटरमा काम भइरहेको छ ।” सेती राजमार्गको उत्तरी खण्ड बझाङमा ७५ किलोमिटर बाटोको ट्र्याक खोलिसकिएको छ । उत्तर खण्ड कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्र यादव भन्नुहुन्छ, “यस वर्ष १३ करोड ४५ लाख रुपियाँ बजेट छुट्याइएको छ । भौगोलिक रूपमा कडा चट्टान र बजेटको कमीले उत्तर खण्डमा कामको प्रगति देखिएको छैन ।”

कहाँ छ बाँकी

डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा तीन किलोमिटर र बोगटान फुड्सिल गाउँपालिकामा ३७ किलोमिटर गरी ४० किलोमिटर सडक पर्छ । त्यसमध्ये बोगटानमा ३४ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । अछामको सेती दोभानमा दुई किलोमिटर, घुघुरकोट–भेडासैन खण्डमा १८ किलोमिटर र बाजुराको भेडासैन–रानागाउँ १२ किलोमिटर सडक पूरै ट्र्याक खोल्न बाँकी छ । दक्षिणी खण्डको २०४ किलोमिटरमध्ये १३२ किलोमिटर ट्र्याक खोलिसक्दा ६६ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । उत्तरी खण्डको बझाङ साइपालमा ८० किलोमिटर ट्र्याक खोल्न बाँकी छ । 

किन भइरहेको छ ढिलाइ ?

यसअघि कैलालीको चुरे क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिका र डोटीको बोगटान फुडसिल वडा नं. १, २, ३ र ७ मा वन क्षेत्र परेकाले काम रोकिएको थियो । अहिले यो समस्या समाधान भइसकेको छ । बाजुराको १२ किलोमिटर सडक खप्तड राष्ट्रिय निकुञ्जको ‘बफर जोन’ मा परेकाले यहाँ अझै रोकिएको छ । यहाँ वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले निकुञ्जसँग सहमतिको प्रयास भइरहेको छ । खप्तड छेडेदह गाउँपालिका–१ को बस्ती क्षेत्र भएर बाटो निकाल्न दुई वर्षअघि नै गाउँपालिकाले आयोजनालाई लेखिपठाएको गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत बताउनुहुन्छ । “‘सेती लोकमार्ग बने बाजुराका मानिस उत्तरतिर एकै दिनमा ताक्लाकोट पुगेर घर फर्किने र दक्षिणमा प्रदेश राजधानी धनगढी पुगेर साँझ घर फर्किने अवस्था हुने थियो,” अध्यक्ष रावतले भन्नुभयो, “राजनीतिक पहुँच नपुगेर हो वा केन्द्रमा बस्नेको ध्यान नपु¥याएर हो, यति लामो समयसम्म सडक पूरा भएन । यो सडक बने दुर्गम मानिएको बाजुरा पनि सुगम हुने थियो ।” वन क्षेत्रको समस्या हटेपछि पनि कामले गति लिएको छैन । “आर्थिक, सामाजिक तथा रणनीतिक हिसाबले महत्वपूर्ण सडक ढिलाइ हुँदा सुदूरपश्चिमको समृद्धिमा असर पुगेको छ,” बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला भन्नुहुन्छ, “अब कैलाली, कानाचौर चमराचौतारा तीनतिरबाट काम हुन सक्ने अवस्थामा पनि बजेट घट्दो क्रममा भयो ।” बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया त्यस पालिकामा पर्ने २९ किलोमिटर ट्र्याक खुले पनि स्तरोन्नतिको काम नभएको बताउनुहुन्छ ।

सेती लोकमार्गको महत्व

सेती लोकमार्गले दक्षिण र उत्तरका छिमेकी भारत र चीनलाई जोड्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पनि लाभ मिल्ने छ । यहाँका नागरिकले भारतको नैमिसारण्यदेखि चीनको मानसरोवर जोड्ने धार्मिक पर्यटकीय तथा सहज व्यापारिक मार्गका रूपमा हेरेका छन् । यो राजमार्गले व्यापारिक हिसाबले दुई देश जोड्ने, सांस्कृतिक हिसाबले हिमाल, पहाड र तराई जोडिने तथा पहाडी जिल्लाको बसाइँसराइसमेत रोकिने योजना आयोगका तत्कालीन सदस्य डा. प्रेमबहादुर कुँवर बताउनुहुन्छ । 

कैलाली–डोटी–अछाम–बाजुरा–बझाङ भएर जाने यो राजमार्गले मध्यपहाडी र मदन भण्डारी राजमार्गलाई पनि जोड्ने भएकाले सुदूरपश्चिमका दार्चुला, बैतडी र माथिल्लो डडेलधुराका नागरिकलाई पूर्वी नेपाल जानुपरे डडेलधुरा–दिपायल हुँदै सेती लोकमार्गमा जोडिएर कैलालीको बौनियाँ झर्न सकिने छ ।