ऋण लगानीमा अत्तरिया गड्डाचौकी सडक विस्तार गरिने
धनगढी । दातृ निकाय एसियाली विकास बैङ्क र विश्व बैङ्कको ऋण लगानीमा कैलालीको अत्तरिया देखि कञ्चनपुरको गड्डाचौकी सम्मको सडक विस्तार गरिने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा अत्तरिया गड्डाचौकी सडक ४ लेनमा विस्तार गर्ने घोषणा गरेको भए पनि बजेटको श्रोत भने एसियाली विकास बैङ्क र विश्व बैङ्कको ऋण मार्फत गरिने भएको हो ।
जसका लागि दातृ निकाय एसियाली विकास बैङ्क र विश्व बैङ्कको टोलीले सडकको अनुगमन गरेको छ । दातृ निकायको अनुगमन पश्चात् अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु हुने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कुमार यादवले बताए । उनले डिपिआर गर्ने परामर्शदाता नियुक्तिका लागि सडक डिभिजन सहितको टोलीले अनुगमन गरेको बताए । उनले यो वर्ष डिपिआरको काम सुरु हुने बताए ।
‘गड्डाचौकीदेखि अत्तरियासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल सहित विश्व बैङ्कका प्रतिनिधासहितको टोली आएको थियो’ उनले भने ‘अब सडकको डिपिआर निर्माणको काम सुरु गर्न परामर्शदाता छनोट गरिने छ ।’
उनले ३ महिना भित्रमा परामर्शदाता छनौट गरी काम अघि बढाउने तयारी गरिएको बताए । उनले यसका लागि दातृ निकाय पनि सकारात्मक रहेको बताए ।
सडक अनुगमनमा आएका सडक विभागका उपमहा निर्देशक अर्जुनप्रसाद अर्यालले पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी क्षेत्रमा कतै काम सकिएको र कतै काम जारी रहेको भए पनि कपिलवस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्ग विस्तारको काम हुन बाँकी रहेको बताए । उनले बाँकी सडक एडिबी र विश्व बैङ्क, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नति गर्ने योजना रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २१ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेको थियो । जसमध्ये १ अर्ब बजेट अत्तरिया देखि गड्डाचौकि खण्डको लागि छुट्टाइएको भए पनि डिपिआरकै काम बाँकी रहेकाले चालु आर्थिक वर्षमै काम सुरु हुने सम्भावना भने न्यून छ ।
हाल अत्तरिया देखि गड्डाचौकी सडक २ लेनको मात्रै रहेको छ । गड्डाचौकी देखि निर्माणाधीन दोधार चाँदनी सुख्खा बन्दरगाह सम्म ४ लेन सडक बिस्तार गरिएको भए पनि त्यसयता २ लेनको मात्रै सडक रहेको छ । यो सडक खण्डमा अत्यधिक सवारी चाप हुने गरेकाले २ लेन सडकमा दुर्घटनाको जोखिम हुनुका साथै सडकमा यात्रा गर्दा सवारी चापका कारण निकै समय लाग्ने गरेको छ ।
हाल यो सडकको बजार क्षेत्रमा भने सडक चौडा गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । कुल ४५ किलोमिटरको सडकमा करिब २ किलोमिटर बजार क्षेत्रमा सडक चौडा गरिएको छ । त्यस्तै कल्र्भड पनि ४ लेन सडक पुग्ने गरी बिस्तार गरिएको छ ।

