थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने

थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने Ramaroshan
२०८२ कार्तिक २९ गते
थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने

धनगढी । हरेक वर्ष सीता विवाहपञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने भएको छ । पश्चिम तराईका थारू समुदायको सबैभन्दा ठुलो देउथल घोरिघोरा मन्दिरमा हुने लवाङ्गी पूजाका अवसरमा तीन दिनसम्म थारू सांस्कृतिक महोत्सवसमेत हुने भएको छ । घोरिघोरा नगर भलमनसा कार्यसमिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको हो । 

समितिका संयोजक एवं नगर भलमनसा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले थारू समुदायले पराम्परागत रूपमा मान्दै आएको लवाङ्गी पूजामा सबै जना सहभागी हुने भएकाले पूजा व्यवस्थापनका लागि तयारीमा जुटेको बताउनुभयो । उहाँले थारू समुदायको परम्परागत मौलिक संस्कृतिसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि सांस्कृतिक महोत्सवसमेत आयोजना गरिएको जानकारी दिनुभयो । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ जिल्लाबाट समेत लवाङ्गी पूजामा सहभागिता रहन्छ । 

महोत्सवमा थारू समुदायको झाँकी, बर्का नाच, सखिया नाच, मुग्रहुवा नाच, कठघोरी नाचलगायतका नृत्य प्रस्तुति तथा थारू कलाकारको विशेष प्रस्तुति रहनुका साथै थारू समुदायको परम्परागत खानाका परिकारको प्रचारप्रसारका साथै बजारीकरण गरिने छ । सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीले पूजा कार्यक्रममा कैलालीका १७३ गाउँका भलमनसा, गुरुवा र चिराकीहरूको सहभागिता हुने उल्लेख गर्नुभयो । 

थारू समुदायले परम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याएपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेष गरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले  लवाङ्गी पूजा गर्ने चलन रहेको समाजका अध्यक्ष एवं आयोजक समितिका सदस्य कप्तान चौधरीले जानकारी दिनुभयो । घर घर र गाउँसमाजमा व्यक्तिगत तथा सामूहिक रूपमा गरिने यो पूजा पछिल्लो दुई दशकयता घोडाघोडी मन्दिरमा भव्य रूपमा सांस्कृतिक महोत्सव आयोजना गरी मनाउन थालिएको छ । थारू समुदायको संस्कृतिसँग जोडिएको लवाङ्गी पूजा कैलालीको घोडाघोडी मन्दिरमा भने थारू पहाडी दुवै समुदायले पूजा आजा गर्ने गर्छन् ।

पश्चिम नेपालका थारू समुदायको ठुलो देउथलका रूपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साइटमा सूचीकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारू र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुने गरेका छन् । भाकल गरेकाहरूले लवाङ्गी पूजाकै दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलनसमेत रहेको स्थानीय यमलाल सापकोटाले बताउनुभयो ।