चुरे गाउँपालिका २ का तीन पीडित परिवारका लागि आर्थिक सहयोग हस्तान्तरण

चुरे गाउँपालिका २ का तीन पीडित परिवारका लागि आर्थिक सहयोग हस्तान्तरण Ramaroshan
२०८२ मङ्गसिर १० गते
चुरे गाउँपालिका २ का तीन पीडित परिवारका लागि आर्थिक सहयोग हस्तान्तरण

धनगढी । चुरे गाउँपालिका–२ का विभिन्न पीडित परिवारका लागि स्थानीय युवाहरूले सुरु गरेको सहयोग अभियानबाट करिब ६६ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरी हस्तान्तरण गरिएको छ। मनोज साउदलगायत युवा टोलीको पहलमा सञ्चालन गरिएको अभियानमार्फत आर्थिक अभावमा रहेका तीन घरपरिवारलाई सहयोग गरिएको हो।

कड्कीरीका करी पार्कि, पारु पार्कि र छोरा खड्क पार्कि परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको अभियानबाट सङ्कलित रु १७ हजार ७७० रुपैयाँ स्थानीय सरकारको रोहवरमा हस्तान्तरण गरिएको छ। साथै तीनै जना सदस्यलाई चिसो मौसमका लागि जाकेट वितरण गरिएको छ।

त्यसैगरी चुरे गाउँपालिका–२ बन्तपुरका राम साउदका १० वर्षीय छोरा योगेन्द्र साउद गाईबाख्रा चराउन जाँदा भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक अभाव भएको परिवारलाई सहयोग जुटाइएको थियो। ललित दियाकोटी र मनोज साउदको नेतृत्वमा सुरु गरिएको अभियानमार्फत योगेन्द्रका लागि रु २१ हजार ७९१ रुपैयाँ सङ्कलन भएको थियो ।

यस्तै कड्कीरीकी स्व. टिकाश्वोरी बि.कको परिवारका लागि सञ्चालन गरिएको अर्को अभियानमार्फत जम्मा रु २६ हजार ७९१ रुपैयाँ ६२ पैसा संकलन भएको थियो। त्यसमध्ये रु १७ हजार ४१५ रुपैयाँ पहिले नै हस्तान्तरण गरिएकामा बाँकी रु ९ हजार ४०० रुपैयाँ हिजो पुनः हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम हुकुम साउदको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य मनसरा बि.क, नरबहादुर साउद, रास्वपाका युवा नेता प्रेम साउदलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन दिलिप बोहराले गरेका थिए।