गाउँसँगै विद्यालय पनि रित्तिँदै

गाउँसँगै विद्यालय पनि रित्तिँदै Ramaroshan
२०८२ मङ्गसिर १० गते
गाउँसँगै विद्यालय पनि रित्तिँदै

धनगढी ।द्वन्द्वका बेलासमेत नरित्तिएका गाउँ अहिले घरमा ताल्चा लगाएर धमाधम खाली हुन थालेका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश मानिस बालबच्चा बोकेर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभूत विद्यालय बन्द हुने भएका छन् । तथ्याङ्क अनुसार जिल्लाका सामुदायिक विद्यालयमा गत वर्षको तुलनामा यो वर्ष सात हजार ८५४ जना विद्यार्थी घटेका छन् । 

पुर्चौडी नगरपालिका–७, ऐराडी गाउँका दलित अभिभावक बालबच्चासहित रोजगारीका लागि भारत पलायन भएपछि २०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत विद्यालय पूर्ण रूपमा बन्द भएको छ । यस्तै अवस्था अन्य पालिकामा पनि देखिएको छ । मेलौली नगरपालिका–४ को सुनौलो आवि तिताबै र भूमिराज आवि बेउराडी पनि त्यसै गरी बन्द भएका छन् । मेलौलीले यो वर्ष १० वटा आधारभूत विद्यालय मर्ज गरेको छ ।  आधारभूत तहदेखि कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहमातहत भए पनि आधारभूत तहमै विद्यार्थी सङ्ख्या नहुँदा जिल्लाका १० वटा स्थानीय तहका ११४ वटा विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । 

यीमध्ये दोगडाकेदार गाउँपालिकामा २२ वटा विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । डिलासैनी गाउँपालिकामा १५, पाटन नगरपालिकामा १५, मेलौली नगरपालिकामा १०, सुर्नया गाउँपालिकामा ११, सिगास गाउँपालिकामा ११, पञ्चेश्वर गाउँपालिकामा नौ, शिवनाथ गाउँपालिकामा चार, पुर्चौडी नगरपालिकामा छ र दशरथचन्द नगरपालिकामा १२ वटा आधारभूत तहका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

जिल्लामा कक्षा १ देखि ५ सम्मका ३०२, कक्षा ६ देखि ८ सम्मका ८९, कक्षा ९ देखि १० सम्मका ७५ विद्यालय र कक्षा ११ देखि १२ सम्म पढाइ हुने ६७ वटा विद्यालय गरी कुल ५३४ वटा सामुदायिक विद्यालय रहेका छन् । तथ्याङ्क अनुसार २०८१ सालमा जिल्लाका सामुदायिक विद्यालयमा ६९ हजार ८८२ जना विद्यार्थी अध्ययनरत थिए । शैक्षिक सत्र २०८२ मा ६२ हजार २८ जना अध्ययनरत छन् । एकै वर्षमा सात हजार ८५४ जना विद्यार्थी कहाँ गए ? कुनै आधिकारिक तथ्याङ्क छैन । 

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार आधारभूत तहमा मात्रै एक वर्षमा दुई हजार ३६४ जना विद्यार्थी घटेका छन् । गत वर्ष आधारभूत तह (कक्षा १–५) मा ३७ हजार ५२० जना अध्ययनरत थिए । शैक्षिक सत्र २०८२ मा ३५ हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् । 

गत वर्ष कक्षा ६ देखि ८ सम्म १६ हजार ९४८ जना विद्यार्थी अध्ययनरत थिए । यो वर्ष एक हजार २७९ जना विद्यार्थी घटेर १५ हजार ६७९ जना विद्यार्थी अध्ययनरत छन् । तथ्याङ्क अनुसार कक्षा ९ देखि १२ सम्म एकै वर्षमा चार हजार २२१ जना विद्यार्थी घटेका छन् । गत वर्ष कक्षा ९ देखि १२ सम्म १५ हजार ४१४ जना विद्यार्थी अध्ययनरत रहेकामा यो वर्ष ११ हजार १९३ जना विद्यार्थी अध्ययनरत छन् ।  शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले सबैभन्दा बढी आधारभूत तह र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी वार्षिक हजारौँका दरले घट्ने क्रम बढेको बताउनुभयो । 

शिक्षामा वार्षिक चार अर्ब खर्च 

जिल्लाको दशरथचन्द नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक ४० करोड रुपियाँ खर्च गर्दै आएको छ तर यहाँका १२ वटा आधारभूत तहका विद्यालयमा विद्यार्थी नै छैनन् । त्यसै गरी पाटन नगरपालिकाले पनि वार्षिक ३० करोडभन्दा बढी खर्च गर्दै आएको छ । पाटनका १४ वटा विद्यालयमा विद्यार्थी नै छैनन् । जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाले शिक्षा क्षेत्रमा वार्षिक सालाखाला चार अर्ब रुपियाँभन्दा बढी खर्च गर्दै आएका छन् । 

क्याम्पस पनि रित्तिँदै 

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दा जिल्लामा रहेका १४ वटा क्याम्पसमा पनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । 

जिल्ला सदरमुकाम गोठालापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा पछिल्ला वर्षमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी घटेको क्याम्पस प्रमुख डा. सुरेन्द्र बमले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ सालसम्म पाँच सय विद्यार्थी रहेकोमा अहिले करिब दुई सय विद्यार्थी भर्ना भएका छन् । नियमित अध्ययन गर्न आउनेको सङ्ख्या ५० प्रतिशत पनि छैन ।”