लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु, डिजिटल हिंसा रोकथाममा जोड

लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु, डिजिटल हिंसा रोकथाममा जोड Ramaroshan
२०८२ मङ्गसिर ११ गते
लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु, डिजिटल हिंसा रोकथाममा जोड

धनगढी ।बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु भएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर २४) सम्म चल्नेछ । उद्घाटन समारोहमा सहभागीहरूले डिजिटल प्लेटफर्ममा बढ्दै गएको दुरुपयोग, साइबर बुलिङ, अनलाइन उत्पीडनलगायतका घटनाले महिलामाथि पर्ने जोखिम बढेकाले सामुदायिक सहकार्य र सचेतना अत्यावश्यक भएको बताएका छन् ।

उद्घाटनका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले अनलाइनमार्फत हुने हिंसा ‘देखिँदैन तर अत्यन्त गम्भीर’ भएको बताउँदै डिजिटल सुरक्षा र कानुनी कार्यान्वयन सुदृढ गर्न सबै निकायको समन्वय महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । त्यस्तै बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले डिजिटल प्रविधिको दुरुपयोगबाट महिलाहरू बढी प्रभावित भएको बताउँदै विद्यालयदेखि समुदायसम्म डिजिटल सुरक्षा तथा जिम्मेवार प्रयोगबारे अनिवार्य रूपमा सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रम बडीमालिका नगरपालिकाको आयोजनामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय र महिला समूहहरूको सहकार्यमा सञ्चालन गरिएको हो । महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाका अनुसार, अभियानअन्तर्गत १६ दिनसम्म बजार परिक्रमा, सचेतना कार्यक्रम, अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधिहरू निरन्तर सञ्चालन गरिनेछ ।