सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी ७ बिकेटले पराजित

सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी ७ बिकेटले पराजित Ramaroshan
२०८२ मङ्गसिर १२ गते
सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी ७ बिकेटले पराजित

धनगढी ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । बिहीबार लुम्बिनी लायन्समाथि ७ विकेटको जितसँगै सुदूरपश्चिम लगातार चौथो जित निकालेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १८।२ ओभरमा पूरा ग¥यो ।

सुदूपश्चिमको जितमा ओपनिङ ब्याटर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । भण्डारीले नटआउट ६९ रन जोड्ने क्रममा ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । भण्डारीले आरिफ शेखसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । आरिफ शेखले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।


ओपनर अस्ट्रेलियन ब्याटर जोश ब्राउन ९ रनमा आउट भएका थिए । अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनले पनि १६ रन मात्र बनाउन सके । त्यसअघि टस जितेको सुदुरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रन जोड्यो । लुम्बिनीका ओपनरद्वय डार्शी सर्ट र सुमित महर्जनले १८–१८ रन मात्र बनाउन सके। सर्टलाई सुदूरपश्चिमका हेमन्त धामी तेस्रो ओभरमा बोल्ड गरे । त्यसअघि उनले ११ बलमा ४ चौका प्रहार गरे। सुमित महर्जन सातौं ओभरमा हर्मित सिंहको एलबिडब्लूको धरापमा परे। उनले १४ बलमा ३ चौका प्रहार गरे ।

त्यसपछि कप्तान रोहितकुमार पौडेल र दिलिप नाथबीच तेस्रो विकेटका लागि ५२ रनको साझेदारी भयो । रोहितले १५औं ओभरमा हेमन्त धामीको बलमा विनोद भण्डारीबाट समातिनुअघि ३६ बलमा ३ चौका प्रहार गरे । १७औं ओभरमा लुम्बिनीले तीन विकेट गुमायो । अभिनास बोहोराले दोस्रो बलमा गुल्बादिन नइबलाई विनोद भण्डारीबाट क्याच गराए । उनले ९ बलमा ११ रन बनाए । पाँचौ बलमा रुबेन ट्रम्पलम्यानलाई कप्तान दीपेन्द्रसिंह ऐरीले शून्यमा डाइरेक्ट हिटमार्फत रनआउट गरे । अन्तिम बलमा दिलीप नाथ पनि विकेट पछाडि समातिए । नाथले २९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए ।

यस्तै १८औं ओभरको पहिलो बलमा शेर मल्ल ४ रनमा स्कट कुगेइलिनबाट बोल्ड भए । सन्दीप जोरा पनि सस्तैमा आउट भए । तल्लो क्रममा ब्याटिङ गरेका जोरा १९औं ओभरको अन्तिम बलमा अभिनास बोहराको बलमा स्कट कुगेइलिनबाट ७ रनमा क्याच भए । आजको खेलमा मौका पाएका इटालीका थोमस ड्राका अन्तिम ओभरको पहिलो बलमा ६ रनमा क्याच भए। हर्मित सिंहको बलमा उनी ऐरीबाट क्याच भए । यस्तै चौथो बलमा अभिसेष गौतम पनि ६ रनमा क्याच भए। यसमा पनि ऐरीले नै क्याच लिए । बलिङमा सुदुरपश्चिमका हर्मित सिंह र अभिनास बोहराले ३–३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने स्कट कुगेलिइनले १ बिकेट लिए ।