चुरे फेदबाटै नदीजन्य पदार्थ उत्खनन
कैलाली, १२ मंसिर / कैलालीको चुरे फेदबाटै नदीजन्य पदार्थ उत्खनन गर्न थालिएको छ । गोदावरी नदीको चुरे फेदबाट दिनदहाडै नदीजन्य पदार्थ उत्खनन गर्न थालिएको हो । गोदावरी नगरपालिकाले गोदावरी नदीबाट नदीजन्य पदार्थ उत्खननको लागि अनुमति दिएर निश्चित क्षेत्र तोकेको भए पनि तोकेको क्षेत्र भन्दा माथि चुरे फेदमा गएर नदीजन्य पदार्थ उत्खनन गर्न थालिएको छ । नदीजन्य पदार्थ सङ्कलनका लागि गोदावरीमा रहेको आर्यघाट भन्दा २ किलोमिटर तल मात्रै उत्खनन गर्न पाउने मापदण्ड बनाएको भए पनि हाल आर्यघाट क्षेत्र सँगै सो भन्दा माथि गएर नदीजन्य पदार्थ उत्खनन हुँदै आएको छ ।
गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले गोदावरी नदीबाट नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का गर्नु पूर्व नै इआईआई गरेर निश्चित क्षेत्र तोकिएको बताए । उनले इआईआई अनुसार आर्यघाट भन्दा २ किलोमिटर तलबाट मात्रै उत्खनन गर्न पाउने गरी सम्झौता गरिएको बताए । उनले २ किलोमिटर तल पनि ४ वटा ठाउँ नदीजन्य पदार्थ सङ्कलनका लागि तोकिएको बताए ।
चुरेमा असर पुग्ने भएकाले नै आर्यघाटबाट २ किलोमिटर तल मात्रै नदीजन्य पदार्थ सङ्कलनका लागि क्षेत्र तोकिएको उनको भनाइ छ । ‘चुरे क्षेत्रमा कुनै ठाउँमा ब्लक भयो भने जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेमा मात्रै निश्चित मात्रामा नदीजन्य पदार्थ निकाल्न मिल्छ’ उनले भने ‘अन्यथा चुरे फेदमा त छुन नै मिल्दैन ।’
गोदावरी नदीबाट नदीजन्य पदार्थ सङ्कलन बापत गोदावरी नगरपालिकाले ठेक्का मार्फत रोयल्टी सङ्कलन गर्दै आएको छ । यस वर्ष नगरपालिकाले रोयल्टी सङ्कलनको लागि सोनी कन्स्ट्रक्सनलाई १ करोड ६० लाख १ रुपैयाँमा ठेक्का दिएको छ ।
नगरपालिकाले ठेक्का मार्फत नदीजन्य पदार्थको रोयल्टी उठाउँदै आएको भए पनि मापदण्ड अनुसार काम भए नभएको बारेमा भने अनुगमन गरेको छैन । नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले भने अनुगमन गरेर सम्झाउने बुझाउने काम गरेको बताइन् ।
‘म अस्ति मात्रै गोदावरीमा अनुगमन गर्न गएकी थिए । हामीले ट्याक्टरहरूलाई आर्यघाट भन्दा माथिबाट नदीजन्य पदार्थ नउठाउनुहोला । कारबाही हुन्छ भनेका थियौ’ उनले भनिन ‘ठेकेदारलाई पनि तोकिएको ठाउँबाट मात्रै नदीजन्य पदार्थ उठाउन भनेका छौ । तोकिएको ठाउँभन्दा माथिबाट नदीजन्य पदार्थ उठाएमा कारबाहीमा पर्नुहुन्छ भनेका छौ ।’
उनले अनुगमनका क्रममा गोदावरीमा आर्यघाट जाने बाटोमा भेटिएका ट्याक्टरलाई आर्यघाट भन्दा माथिबाट नदीजन्य पदार्थ सङ्कलन नगर्न सम्झाइ बुझाइ गरेको बताइन् ।
उनले तोकिएको ठाउँबाट मात्रै नदीजन्य पदार्थ संलकन गर्नको लागि होर्डिङ बोर्ड लगाउने काम भइरहेको बताइन् । ‘नदीजन्य पदार्थ सङ्कलन गर्दा तोकिएको ठाउँभन्दा बाहिरबाट लिनु भएन । यसरी लियो भने कारबाहीमा पर्नुहुन्छ’ उनले भनिन् ‘अहिले सम्म कारबाहीमा भने परेका छैनन् ।’ उनले इआईआई नगरेको ठाउँबाट ट्याक्टरमा नदीजन्य पदार्थ लिएको पाइए ५० हजार जरिवाना गरिने बताइन् ।
गोदावरी नगरपालिकाले गोदावरी नदी सँगै खुटिया र खैरानाबाट पनि नदीजन्य पदार्थ सङ्कलन गरे बापत रोयल्टी सङ्कलन गर्दै आएको छ । नगरपालिकाले खुटिया र खैरानाबाट नदीजन्य पदार्थको रोयल्टी सङ्कलनका लागि भने बालाजी कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । खैरानाबाट रोयल्टी सङ्कलनका लागि १ करोड ४० लाख १० रुपैयाँ र खैरानाबाट नदीजन्य पदार्थको रोयल्टी सङ्कलनका लागि ५ करोड ८७ लाख ८० हजार ७८६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

