विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता राइजिङ स्टार प्रिमियर लिगको ट्रफी सार्वजनिक

 विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता राइजिङ स्टार प्रिमियर लिगको ट्रफी सार्वजनिक Ramaroshan
२०८२ मङ्गसिर १४ गते
 विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता राइजिङ स्टार प्रिमियर लिगको ट्रफी सार्वजनिक

धनगढी ।   कैलालीको धनगढीमा हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता राइजिङ स्टार प्रीमियर लिग (आरपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । आगामी १८ मङ्सिरदेखि पहिलो संस्करणको रूपमा हुन लागेको आरपिएलको एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको हो । राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदै छ ।

कक्षा ८ भन्दा तलका विद्यार्थीहरूको सहभागिता हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए । क्रिकेटको सहरमा क्रिकेटको माहौल कम भएपछि विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

ग्रास रुटबाट उदाएका क्रिकेट खेलाडीहरू अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै उनले आफूहरूले आयोजना गर्न लागेको प्रतियोगिताले थप खेलाडीहरू उत्पादन हुने विश्वास व्यक्त गरेका थिए । पहिलो संस्करणमा २४ टिम सहभागी हुने उनले बताएका थिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद तीन हजार, उत्कृष्ट ब्याटर र बलरलाई दुई–दुई हजार तथा उदयमान खेलाडीलाई १५ सय प्रदान गरिने छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल हरिश शाहीले प्रतियोगिताको तीव्र तयारी भइरहेको भन्दै क्रिकेटको सहरमा अर्को क्रिकेटको उत्सव हुन लागेको बताएका थिए । उनले वर्ष प्रतियोगिता आयोजना गरिने बताएका थिए ।

बालमिकी स्कुल तथा निसर्ग अस्पतालका अध्यक्ष दिनेश भण्डारी तथा तीर्थराज पन्तले प्रतियोगिताको सफलताको कामना गर्दै आरपिएलले धनगढीको क्रिकेट विकासमा टेवा पुराउने बताएका थिए ।