विद्यार्थीको समग्र विकासका लागि १०औ हब कन्वेन्सन अन एसक्युसि कार्यक्रम सम्पन्न

विद्यार्थीको समग्र विकासका लागि १०औ हब कन्वेन्सन अन एसक्युसि कार्यक्रम सम्पन्न Ramaroshan
२०८२ मङ्गसिर १४ गते
विद्यार्थीको समग्र विकासका लागि १०औ हब कन्वेन्सन अन एसक्युसि कार्यक्रम सम्पन्न

धनगढी । विद्यार्थीको व्यक्तित्व विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नन्दिना’स एकेडेमीले आयोजना गरेको ‘१० औ हब कन्वेन्सन अन एसक्युसि’ कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम हबअन्तर्गत धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित नन्दिना’स एकेडेमीमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘एसक्युसि : दिगो भविष्यका लागि सक्षम मानसिकता’ भन्ने नाराका साथै गरिएको कन्वेन्सनमा धनगढी उपमहानगरपालिका भित्रका १२ विद्यालयका विद्यार्थी समूहहरूले आफ्ना परियोजना तथा समस्या समाधानका विषयमा प्रस्तुति दिए। विद्यार्थीलाई नेतृत्व, समुहगत काम, समस्या पहिचान तथा समाधान सीप सिकाउने उद्देश्यले एसक्युसि क्वालिटी सर्कल प्रभावकारी रहेको आयोजकले जानकारी दिए।

विगत केही वर्षयता विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि एसक्युसि कार्यक्रम देशभर नै व्यापक रूपमा विस्तार भइरहेको सुदूरपश्चिम हबका प्रमुख दीपक भट्टले बताए । विद्यार्थीमैत्री, सिर्जनात्मक र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याइरहेको उनले बताए।

एसक्युसि कार्यक्रमले आफ्ना विद्यार्थीहरूमा सकारात्मक र सिर्जनात्मक परिवर्तन ल्याएको एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तले बताइन्। “विद्यार्थीहरूको समग्र विकासका लागि एसक्युसि क्वालिटी सर्कलले महत्वपूर्ण भूमिका खेलिरहेको छ,” उनले भनिन्।

बालबालिकाले केवल शिक्षकमार्फत मात्र नभई साथीहरूसँगै सिक्ने वातावरण पाउँदा सिकाइको प्रभावकारिता बढ्ने शिक्षा समन्वय इकाइ कैलालीका प्रमुख ईश्वरीय प्रसाद ज्ञवालीले बताए । “यस मोडेलमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहने भएकाले उनीहरूले शिक्षकभन्दा पनि बढी आफ्ना साथीहरूबाट सिकिरहेका हुन्छन्,” उनले भने ।