चुरे गाउँपालिकामा पनि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु
धनगढी । कैलालीको चुरे गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु गरिएको छ। स्थानीय तह, विद्यालय, प्रहरी, बाल क्लब ,आमा समूहदेखि सामुदायिक वनका प्रतिनिधिको सहभागीमा गरिएको कार्यक्रमले लैङ्गिक हिंसा रोकथाममा बहुपक्षीय सहकार्य आवश्यक रहेको जनाएको छ।
उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष धना थापा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ओझा, इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख किशोर जोशी, विभिन्न शाखा प्रमुख, आमा समूह, बाल क्लब तथा सरोकारवालाको उपस्थिति थियो।
चुरे गाउँपालिकामा बाल विवाह अत्यन्तै भयाभह रुपमा देखिएको उपाध्यक्ष धना थापाले बताइन्। उनले भनिन् “चुरेका कतिपय वडामा छाउपडी र बाल विवाह अझै भयावह छ। बाल विवाह नै लैङ्गिक हिंसाको प्रमुख कारण बनेको छ।,” समुदाय, विद्यालय र स्थानीय नेतृत्व एक साथ नआउँदासम्म यस समस्यालाई नियन्त्रण गर्न कठिन भएको उनले बताइन् ।
लैङ्गिक हिंसामा महिला मात्रै नभई पुरुष पनि पर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले बताए । समाजमा प्रचलित रीतिरिवाज र संस्कृतिले समस्या झनै बढाइरहेको उनले बताए।
अधिकांश हिंसाका घटनामा महिला नै बढी पीडित हुने गरेको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पन्तले जानकारी दिइन्। पितृसत्तात्मक सोचका कारण महिलाले दैनिक जीवनमै विभिन्न रूपले हिंसा सहनुपरेको उनले बताइन्। “हिंसा सहेर बस्ने, डरले कुरा नखुलाउने प्रवृति अझै पनि हट्न सकेको छैन,”उनले भनिन्।
हिंसा सम्बन्धी घटनाहरू खुलेर प्रहरीलाई जानकारी गराउन इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख किशोर जोशीले आग्रह गरे। उनले भने “प्रहरी हातेमालो गर्दै अघि बढ्छ, पीडितले पनि नलुकाई घटना बताउनुपर्छ ।,” हिंसा केवल अशिक्षित वा कमजोर परिवारको समस्या मात्र नभएको वडा नम्बर १ का अध्यक्ष डम्मर बहादुर सिंहले बताए। उनले भने “शिक्षित र सम्पन्न परिवारमै पनि हिंसाका घटना देखिन्छन्। रोकथाम सबैको सामूहिक जिम्मेवारी हो ।,”
समाजले हिंसा गर्ने व्यक्तिलाई बचाउने चलन समाप्त नहुदाँ सम्म यस्ता कार्यक्रमले सार्थकता नपाउने भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले बताए ।
हिंसाका धेरै घटनामा परिवार, छिमेकी, समुदाय तथा प्रभावशाली व्यक्तिहरूले मिलेमतो गरेर पीडकलाई बचाउने, पीडितलाई चुप लाग्न दबाब दिने र घटनालाई सामान्यीकरण गर्ने प्रवृत्ति अझै पनि बलियो रहेको उनले बताए । अभियान अन्तर्गत भोली देखी चुरे गाउँपालिकाले विभिन्न वडामा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल तथा विद्यालयस्तरीय अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

