चुरे २ मा रहेको ककरसिहं आधारभूत विद्यालयमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

चुरे २ मा रहेको ककरसिहं आधारभूत विद्यालयमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान Ramaroshan
२०८२ मङ्गसिर १६ गते
चुरे २ मा रहेको ककरसिहं आधारभूत विद्यालयमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

धनगढी । चुरे गाउँपालिका–२ कड्किरीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज ककरसिहं आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो। हिजो पालिकामा औपचारिक रुपमा सुरु भएको अभियान आज विद्यालयमा भएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, उपाध्यक्ष धना थापा, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पन्त, वडा नं। २ का अध्यक्ष केशव साउद, विद्यालयका प्रधानाध्यापक तिर्थराज अवस्थी, बाल क्लबका प्रतिनिधि, अभिभावक, विद्यार्थी, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता थियो।

समाजमा अझै पनि महिला–पुरुषबीचका आधारहीन विभेद, दुर्व्यवहार र कुरीतिहरू कायम रहेको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पन्तलेबताइन्। यस्तो सोचको अन्त्य नभएसम्म सभ्य समाज निर्माण गर्न नसकिने उनले बताइन् । “महिला–पुरुष सबैले बराबर सम्मान र अवसर पाउनुपर्छ, लिङ्गकै आधारमा कसैलाई हिंसा हुनु हुँदैन,” उनी भनिन्। स्थानीय तहमा पनि हिंसा न्यूनिकरणका लागि विभिन्न संयन्त्र सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन्।

प्रविधिको गलत प्रयोगले पछिल्लो समय लैङ्गिक हिंसा र बालविवाहका घटनामा वृद्धि आएको प्रधानाध्यापक तिर्थराज अवस्थीले बताए। विद्यालय, कार्यालयदेखि सार्वजनिक यातायातसम्म सबै क्षेत्रमा हिंसा हुने गरेकोले चेतना आवश्यक भएको उनको भनाइ रहेको थियो।

समाज परिवर्तनका लागि पहिले आफैँ सुधारिनुपर्ने र यौनिक अल्पसंख्यक समुदाय पनि हिंसाको शिकार बन्ने भएकाले उनीहरूको हकहितको संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृत धर्म राज खत्रीले बताए। कड्किरी गाउँमा ७० घरमध्ये करिब ५०–६० घरमा अहिले पनि छाउपडी गोठ रहेको तथ्य सार्वजनिक भएको छ। बालिकालाई काममा लगाउने र बालकहरूलाई घरबाहिर घुमिरहनुपर्ने अवस्था अझै देखिन्छ ।

लागू पदार्थ दुरुपयोग, कुसंस्कार, कुरीति र बेरोजगारी पनि हिंसा बढ्ने मुख्य कारण रहेको वडा अध्यक्ष केशव साउदले बताए। “समाजमा पुरुषले पुरुषमाथि, महिलाले महिलामाथि हिंसा गरेको अवस्था पनि छ, त्यसैले यो मुद्दा सबैको हो,” उनले भने।

उपाध्यक्ष धना थापाले वडामा आत्महत्या, जुवा–तासका घटना धेरै हुने भएकाले समस्या बढी देखिएको क्षेत्रमा आजको कार्यक्रम राखिएको बताइन्। “यहाँ धेरै छाउपडी गोठ भएकाले अब यी गोठ भत्काएर घरमै बस्ने वातावरण बनाउनु अत्यावश्यक छ,” उनले भनिन्। कार्यक्रमले लैङ्गिक हिंसाका विविध रूप, कारण र समाधानका उपायबारे सहभागीलाई जानकारी गराउँदै सामुदायिक तहमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।