बजेट आए पनि खानेपानी आएन

बजेट आए पनि खानेपानी आएन Ramaroshan
२०८२ मङ्गसिर २९ गते
बजेट आए पनि खानेपानी आएन

 धनगढी ।खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि बैतडी मेलौलीका ४२५ घरपरिवारका लागि खानीपानी आएको छैन ।  खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोका पूरा हुन सकेको छैन ।        

मेलौली नगरपालिका–९, विशालपुरका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काललगायतका गाउँ एक गाग्री पानीका लागि दिनभरि पालो कुर्दै आएका छन् । गाउँमा खानेपानीको आपूर्ति हुँदै आए पनि असुर–रोकटा खानेपानीको मुहान सुकेर पानीको हाहाकार हुने गरेको छ ।   

गाउँमा भएका पानीका मुहान सुक्दै जान थालेपछि विकल्पमा मेलघट–केदारमाडौँ लिफ्ट खानेपानी योजनाको माग गरेको थियो । त्यसका लागि निरन्तर पाँच वर्षदेखि बजेट आइरहेको छ तर योजना सुरु नभएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।  उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७८/७९ मा सङ्घ सरकारबाट नगरपालिकामा दुई करोड रुपियाँ आएको थियो । डिपिआर बनाएर बाँकी बजेट फ्रिज भयो । अर्को वर्ष प्रदेश सरकारबाट नौ लाख रुपियाँ आयो । प्रदेशको योजना पनि डिपिआरमै सकियो । आव २०७९/८० मा ५० लाख रुपियाँ आयो तर कार्यान्वयन भएन । आव २०८१/८२ मा ३० लाख र चालु आव २०८२/८३ मा प्रदेश सरकारबाट १० लाख रुपियाँ आएको छ । अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।”