नेपाली स्वास्थ्य विशेषज्ञद्वारा एशिया इन्टरनेशनल युनिभर्सिटीको अध्ययन भ्रमण
धनगढी । उजबेकिस्तानको ऐतिहासिक शहर बुखारामा अवस्थित एशिया इन्टरनेशनल युनिभर्सिटीमा नेपालको प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरूको टोलीले नोभेम्बर १० देखि १४ सम्म पाँचदिने औपचारिक अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । भ्रमण टोलीमा बी.पी. स्मृति अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. भोला राम श्रेष्ठ, नेपाल आँखा राज्य अस्पतालका प्रमुख तथा प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईं र वरिष्ठ स्वास्थ्य व्यवस्थापन सल्लाहकार महेन्द्र राज भुसाल सहभागी थिए ।
भ्रमणका क्रममा टोलीले विश्वविद्यालयद्वारा निर्माणाधीन एशिया इन्टरनेशनल अस्पताल परियोजनाको रणनीतिक योजना, पूर्वाधार संरचना र वास्तु डिजाइनको विस्तृत अध्ययन गरेको थियो। विश्वविद्यालयको दोस्रो क्लिनिकल बेसका रूपमा विकास भइरहेको अस्पताल परियोजनामा सुरक्षा व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा, शैक्षिक प्रयोगशाला तथा समग्र सेवा संरचनाको मूल्यांकन गरिएको टोलीले जनाएको छ।
त्यसैगरी, विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको शैक्षिक अवस्था, क्याम्पस वातावरण, सुरक्षा व्यवस्था र बसोबाससम्बन्धी सुविधाको प्रत्यक्ष अनुगमन गरिएको थियो। अनुगमनपछि टोलीले सम्पूर्ण व्यवस्था अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको निष्कर्ष निकालेको छ।
नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय
एशिया इन्टरनेशनल युनिभर्सिटी नेपाल चिकित्सा शिक्षा आयोगमा दर्ता भइसकेको तथा नेपाल सरकार, शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त विश्वविद्यालय हो। हाल विश्वविद्यालयमा २५ जना नेपाली विद्यार्थी विभिन्न शैक्षिक कार्यक्रम, विशेषतः चिकित्सा शिक्षामा अध्ययनरत छन्।
विश्वविद्यालयका डिन डा। किशन भण्डारीका अनुसार नेपाली विद्यार्थीहरूका लागि यहाँ अत्यन्तै सहज, सुरक्षित र सहयोगी वातावरण उपलब्ध छ। डिनसहित पाँच जना नेपाली शिक्षक कार्यरत रहेकाले भाषा, परामर्श र समन्वयमा थप सहजता भएको उनले बताए।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक गन्तव्य बन्दै उजबेकिस्तान
आधुनिक पूर्वाधार, सुरक्षित वातावरण, किफायती शुल्क र गुणस्तरीय शिक्षाका कारण उजबेकिस्तान हाल नेपाली, भारतीय, बंगलादेशी लगायत विभिन्न देशका विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्य बन्दै गएको छ। एशिया इन्टरनेशनल युनिभर्सिटीमा हाल ११ देशका ५०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।
विश्वविद्यालयमा करिब ३३ हजार विद्यार्थी ४९ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् ।
नेपाली स्वास्थ्य विशेषज्ञहरूको पाँचदिने भ्रमणले एशिया इन्टरनेशनल युनिभर्सिटीले अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा, पूर्वाधार र विद्यार्थीमैत्री वातावरण प्रदान गरिरहेको तथ्य पुष्टि गरेको छ । विश्वविद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्टता, विद्यार्थी कल्याण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । विश्वविद्यालयले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि गोष्ठि आयोजना गर्ने जानकारी दिएको छ ।

