मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै Ramaroshan
२०८२ पौष १० गते
मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगन्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडीदेखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढेको छ ।

ठेकेदार कम्पनीले कालोपत्रेका जिम्मा लिएको झण्डै पाँच–सात वर्षसम्म पनि मार्तडी कोल्टी सडक अझैँ कालोपत्रे हुन नसकेको स्थानीय बताउछन् ।

सडक कालोपेत्र नहुँदा जोखिम पूर्ण यात्रा गर्नु परेको सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले बताउनु भयो ।

उहाँले भन्नभुयो, “मार्तडी–कोल्टी सडकमा अहिले सवारी साधानलाई चलाउन निकै सकस हुने गरेको छ । यहाँका स्थानीयको आवश्यकताका लागि हामी जबरजस्ती गाडी सञ्चालन गर्ने गरेका छौँ ।”

सडक सञ्चालनमा आएपनि खाल्डाखुल्डीका कारण लामो दूरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताउनु भयो ।

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै नौ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भए पनि ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक भने अझैँ पिच हुन सकेको छैन ।

ठेकदारको लापरबाहीका कारण सडक निर्माणमा निकै ढिलाइ भएपछि अहिले मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधैँ सास्ती खेप्नुपरेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेका छन् ।

कोल्टीमा कात्तिकदेखि बस सञ्चालन भएको दुई महिनामै सुदूरपश्चिम र महाकाली गरी दुई वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने करिब १२ जनाभन्दा बढी यात्रु घाइते भएका थिए ।

आफुले अरूलाई जिम्मा दिएको र उहाँहरूले काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको ठेकेदार कम्पनीका मालिक राजु बानीयाँले बताउनु भयो ।