२ वर्षदेखि पारिश्रमिक पाएनन् कैलाली जिल्ला फुटबल संघका रेफ्रीले, तालाबन्दीको चेतावनी

२ वर्षदेखि पारिश्रमिक पाएनन् कैलाली जिल्ला फुटबल संघका रेफ्रीले, तालाबन्दीको चेतावनी Ramaroshan
२०८२ पौष १६ गते
२ वर्षदेखि पारिश्रमिक पाएनन् कैलाली जिल्ला फुटबल संघका रेफ्रीले, तालाबन्दीको चेतावनी

धनगढी, १६ पुस /  कैलाली जिल्ला फुटबल संघले लामो समयदेखि आफूहरूले खेल सञ्चालन गरेबापतको पारिश्रमिक नदिएको आरोप लगाउँदै रेफ्रीहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सार्वजनिक गरेका छन्। दिपेन्द्र खड्का, सुसिल राना मगर, रामबहादुर कुन्जेडा र मिलन चौधरी लगायतले पछिल्ला २ वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन्।

उनीहरूले विभिन्न प्रतियोगितामा ४ वटा खेल सञ्चालन गरेबापतको रकम समेत नपाएको बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै रेफ्री दिपेन्द्र खड्काले पटक-पटक कैलाली जिल्ला फुटबल संघका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए। उनका अनुसार संघका महासचिव ललित मिश्रलाई निवेदनमार्फत जानकारी गराइए पनि अहिलेसम्म पारिश्रमिक उपलब्ध गराइएको छैन।

रेफ्रीहरूको आरोप अनुसार आयोजक संस्थाले जिल्ला फुटबल संघलाई रेफ्री खर्च उपलब्ध गराइसकेको भए पनि संघले उक्त रकम आफूहरूलाई नदिएको गुनासो गरेका छन्।

आफ्नो मेहनतको मूल्य नपाउँदा पेशागत सम्मानमा चोट पुगेको भन्दै उनीहरूले अब पनि पारिश्रमिक नदिए कैलाली जिल्ला फुटबल संघको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।