बैतडीका गुरुकुल माविका विद्यार्थीलाई न्यानो लुगा वितरण

बैतडीका गुरुकुल माविका विद्यार्थीलाई न्यानो लुगा वितरण Ramaroshan
२०८२ पौष १८ गते
बैतडीका गुरुकुल माविका विद्यार्थीलाई न्यानो लुगा वितरण

चिसो बढ्दै गएसँगै बैतडीका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै मानवीय सहयोगका कार्यक्रम अघि बढाइएको छ ।

सोहीक्रममा बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित गुरुकुल माध्यमिक विद्यालय, सेरामा अध्ययनरत बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको दसरथचन्द नगरपालिका ६ का अध्यक्ष महेन्द्र कार्कीले बताउनुभयो  ।

राधा माधव समिति बैतडी र डिभाइन युथ क्लबको सहकार्यमा आयोजित कार्यक्रममा २८ जना विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको कार्कीले बताउनुभयो । सहयोगले चिसोका कारण पठनपाठनमा देखिने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

राधा माधव समितिले मानवीय सहयोग कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष जिल्लाका विभिन्न विद्यालयमा न्यानो लुगा वितरण गर्दै आएको डिभाइन युथ क्लबका अध्यक्ष नारायणदत्त जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म बैतडीका ६ वटा विद्यालयका विद्यार्थीहरु यो कार्यक्रमबाट लाभान्वित भइसकेका जोशीले बताउनुभयो  ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, वडा नं. ६ का वडाध्यक्ष महेन्द्र कार्की तथा राधा माधव समिति बैतडीका अध्यक्ष हरिदत्त जोशी लगायतले यस्ता कार्यक्रमले बालबालिकाको विद्यालय पहुँच र निरन्तरतामा टेवा पुग्ने बताउनुभयो ।