जीवनस्तर सुधार्ने योजना प्राथमिकतामा

जीवनस्तर सुधार्ने योजना प्राथमिकतामा Ramaroshan
२०८२ पौष २१ गते
जीवनस्तर सुधार्ने योजना प्राथमिकतामा

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८) को मसौदा अवधारणापत्रमाथि छलफल गर्दै उहाँले उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्दै जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखेर योजना अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । “प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति तथा परिणाममुखी कार्यक्रम अपरिहार्य छ,” उहाँले भन्नुभयो । 

सबै क्षेत्रको विकास एकै पटक सम्भव नरहेकाले स्रोतसाधन र क्षमताको उचित व्यवस्थापन र प्राथमिकताका आधारमा विकास प्रक्रियालाई गतिशील बनाउनुपर्ने मुख्यमन्त्रीको जोड छ । विकास योजनाको सफल कार्यान्वयनका लागि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाउन आवश्यक रहेको उहाँले औँल्याउनुभयो । शाहले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकार्य, निजी क्षेत्रको सहभागिता र जनताको सक्रिय योगदानले मात्र दीर्घकालीन विकासको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पार्नुभयो । 

दीर्घकालीन विकासका लागि आधार तयार, भविष्यका योजनाका लागि मार्गदर्शन प्रदान गर्ने उद्देश्यले प्रदेश नीति तथा योजना आयोगले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आयोगका उपाध्यक्ष डा. जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मसौदामाथि प्रकाश पार्नुभएको थियो । यसै गरी मसौदा निर्माणका टिम लिडर डा. हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम, मुख्य सचिव वैकुण्ठप्रसाद अर्याललगायतले आआफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरण, कृषि, पशुपालन र ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग, उद्यमशीलता र रोजगारी, मानवकेन्द्रित, परिणाममुखी योजनाका विषयमा कुरा राख्नुभएको थियो । यसै गरी पर्यटन विकास, गन्तव्य प्रवर्धन, शिक्षा सुधार, सीप विकास र अनुसन्धान प्रवर्धन, स्वास्थ्य सेवा विस्तार र मानव विकास सृदृढीकरणलगायतका विषयमा चर्चा गर्नुभएको थियो ।