चुरेमा वनकै पदाधिकारीको मिलेमतोमा वन फडानी

चुरेमा वनकै पदाधिकारीको मिलेमतोमा वन फडानी Ramaroshan
२०८२ पौष २१ गते
चुरेमा वनकै पदाधिकारीको मिलेमतोमा वन फडानी

धनगढी, ‌२१ पुस / कैलालीको चुरे गाउँपालिका –२ खैरालास्थित सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा वन फडानी भएको छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार त्यहाँ रहेको त्रिवेणी सामुदायिक वन र झरना सामुदायिक वनभित्र हरिया सालको रुख काटिएको हो । सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा हरिया सालका रुख काटेर काठ तस्करी भइरहेको वन कार्यालयको जिकिर छ ।

सामुदायिक वन क्षेत्रमा अवैध रुपमा काटिएका झण्डै २० वटा हरिया सालका रुख चिरान गरिएको अवस्थामा करिब ६ सय क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनगढीले विशेष सूचनाको आधारमा गरेको अनुगमनका क्रममा उक्त अवैध गतिविधि फेला परेको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) रामविचारी ठाकुरको नेतृत्वमा खटिएको टोलीले त्रिवेणी सामुदायिक वन र झरना सामुदायिक वन भित्रै चिरान गरिएको सालको काठ बरामद गरेको छ । वन कार्यालयका अनुसार झरना सामुदायिक वनबाट करिब २०० वटा र त्रिवेणी सामुदायिक वनबाट ३१९ वटा कडी, फ्रेम र फन्टी बरामद गरिएको छ ।

सामुदायिक वनका अध्यक्षसहित केही पदाधिकारीको प्रत्यक्ष संलग्नतामा सालका रुख काट्ने, काठ बिक्री गर्ने गरिएको डिभिजनल वन अधिकृत ठाकुरले बताए। उनले वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यसाथ योजनाबद्ध तरिकाले तस्करी भइरहेको बताए । वन कार्यालयको टोली घटनास्थलमा पुगेपछि संलग्न सामुदायिक वनका पदाधिकारी फरार भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको ठाकुरले जानकारी दिए।

“चुरे क्षेत्रमा केही समययता अवैध रुपमा वन फडानी र अतिक्रमण भइरहेको भन्ने सूचनाका आधारमा लगातार गस्ती गर्दा ठूलो परिमाणमा काठ फेला परिसकेको छ” डिएफओ ठाकुरले भने, “वन अतिक्रमण र फडानीमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइन्छ, कसैलाई छुट दिइने छैन ।”