गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने

गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने Ramaroshan
२०८२ पौष २९ गते
गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने

कैलाली, २९ पुस / कैलालीकाे प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ । देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने उनले जानकारी दिए । माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष जोशीले बताए ।

मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहने उनले बताए ।

धार्मिक अनुष्ठान अवधिभर देशभरका श्रद्धालु, विभिन्न सामाजिक र धार्मिक सङ्घ संस्थाको सहभागिताका लागि निम्ता तथा आवश्यक प्रचार प्रसार भइरहेको विकास समितिले जनाएको छ ।