भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले १३ जनालाई जन्मकैद सजाय सुनायो

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले १३ जनालाई जन्मकैद सजाय सुनायो Ramaroshan
२०८२ पौष २९ गते
भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले १३ जनालाई जन्मकैद सजाय सुनायो

धनगढी, २९ पुस /  कैलालीकाे लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएकाे छ । जिल्ला न्यायाधीश गाेकुल निराैलाकाे एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद हुने फैसला गरेकाे छ ।

अदालतका सूचना अधिकारी पंकज उपाध्यायले प्रतिवादी रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही गरी ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैद सजाय हुने ठहर गरेको जानकारी दिए ।

उनकाअनुसार प्रतिवादी मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदकाे सजाय सुनाइएको छ भने अदालतले लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई समेत अभियोग दाबी बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको छ ।

प्रतिवादी अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ हुने अदालतले जनाएको छ ।

याे मुद्दामा सुरूदेखि फरार प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।

क्षतिपूर्ति र राहत कोष कसुर ठहर भई सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा र१५ लाख पीडितलाई दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश पनि भएको छ ।

उनीहरूबाट कानुन बमोजिम जनही दुई हजार आठ सयका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ ।

बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएकाे थियो ।

२६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।