रास्वपाको टिकट वितरणप्रति कैलाली-१ मा चर्को असन्तुष्टि

रास्वपाको टिकट वितरणप्रति कैलाली-१ मा चर्को असन्तुष्टि Ramaroshan
२०८२ माघ ०६ गते
रास्वपाको टिकट वितरणप्रति कैलाली-१ मा चर्को असन्तुष्टि

कैलाली, ५ माघ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली-१ मा वितरण गरेको उम्मेदवार टिकटप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ। साबिक नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थारूवान-थारूहट अभियन्तासँगको एकतापछि कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा भागबण्डा गरिएको थियो। सोही क्रममा रास्वपाले कैलाली-१ मा कोमल ज्ञावलीलाई उम्मेदवार बनाएको छ।

तर यस निर्णयप्रति रास्वपा कैलाली-१ भित्रका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन्। रास्वपा प्रदेश सभापति प्रकाश बिष्ट कैलाली-१ का प्रमुख आकांक्षी थिए। नगर समितिबाट एकल सिफारिस हुँदाहुँदै पनि उनले टिकट नपाएपछि असन्तुष्टि बढेको हो।

टिकापुर नगर समिति, जानकी र जोशीपुर गाउँ समिति तथा क्षेत्रीय समितिले पुनः केन्द्रलाई प्रदेश सभापति प्रकाश बिष्टकै नाम एकल रूपमा सिफारिस गरेका छन्।

टिकापुर नगर सभापति रविन्द्र बिष्टले उम्मेदवार परिवर्तन नभए कैलाली-१ मा  मात्रै हैन कैलाली जिल्लामै पार्टी कमजोर हुने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले निर्णय नसच्चिए निर्वाचनमा नकारात्मक असर पर्ने उल्लेख गरेका छन्।

रास्वपाको केन्द्रीय निर्णयप्रति कैलाली-१ मा देखिएको असन्तुष्टिले आगामी निर्वाचनमा पार्टीको संगठन र परिणाममा प्रभाव पार्ने चर्चा सुरु भएको छ।