बैतडीमा १२ जनाको मनोनयन दर्ता, भण्डारी चौथो पटक उम्मेदवार

बैतडीमा १२ जनाको मनोनयन दर्ता, भण्डारी चौथो पटक उम्मेदवार Ramaroshan
२०८२ माघ ०८ गते
बैतडीमा १२ जनाको मनोनयन दर्ता, भण्डारी चौथो पटक उम्मेदवार

बैतडी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १० वटा राजनीतिक दल र दुई जना स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट भने चौथो पटक दामोदर भण्डारी दोहोरिनुभएको छ ।

नयाँ अनुहारमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीले मनोनय दर्ता गर्नुभएको छ । त्यसैगरी, जनता समाजवादीबाट आनसिंह भण्डारी, श्रमसंस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामबहादुर कुँवर, आम जनता पातर्टीबाट बिसनसिंह बोहराले मनोनयन दर्ता गर्नुभएको छ ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवारका रुपमा तेजबहादुर चन्द र जयप्रकाश पन्तले मनोनयन दर्ता गर्नुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका पन्त यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुहुन्थ्यो भने चन्द नेपाली कांग्रेसमा रहनुभएको थियो ।

एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीबाट प्रतिनिधि सभाका लागि मनोनय दर्ता गर्न उम्मेदवारहरु छलिया नृत्यसहित बाजागाजा बजाएर मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गढी पुग्नुभएको थियो । उम्मेदवारी दर्ता गर्न दिइएको समय तालिका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्दले पहिलो उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्य सबै उम्मेदवार आफैँ उपस्थित भएर मनोनयन दर्ता गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीले वारिसमार्फत मनोनय दर्ता गर्नुभएको छ  ।  

नेकपा एमालेका केन्द्री सदस्य एवम् पूर्व मन्त्री दामोदर भण्डारी चौथो पटक चुनावी मैदानमा देखिनुभएको छ । नेपाली कांग्रेसका बैतडी पार्टी सभापति एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट पनि प्रतिनिधि सभामा पहिलो पटक निर्वाचनमा होेमिनुभएको छ । भट्ट नेकपा एमालेबाट विभाजित भएको नेकपा समाजवादी हुँदै हालै प्रचण्ड र माधव नेपालबिच  एकता भएको नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारका रुपमा अघि सारिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका भूपेन्द्र चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पुत्र हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका हरिमोहन भण्डारी यसअघि नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । गत २०७९ को सुदूरपश्चि प्रदेश सभामा स्वतन्त्र उम्मेद्वारी दिएर पराजित हुनु भएका उहाँलाई पार्टीले कारबाही गरेको थियो । भण्डारी हालः राष्ट्रि स्वतन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ ।