रास्वपाबाट सबैभन्दा बढी महिला प्रत्यक्ष चुनाव लड्दै

रास्वपाबाट सबैभन्दा बढी महिला प्रत्यक्ष चुनाव लड्दै Ramaroshan
२०८२ माघ ०८ गते
रास्वपाबाट सबैभन्दा बढी महिला प्रत्यक्ष चुनाव लड्दै

काठमान्डौं, ७ माघ  /  नेपालको संविधानले प्रतिनिधिसभामा प्रत्येक राजनीतिक दलको ३३ प्रतिशत महिला सांसद हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। हरेक पार्टीले यो संख्या पुर्‍याउन त पुर्‍याउँछन्, तर समानुपातिक निर्वाचन प्रणालीबाट।

संविधानले प्रत्यक्ष निर्वाचनबाटै संसदमा महिलाको प्रतिनिधित्व गराउनू भनेको छैन, जुन निर्वाचन प्रणालीबाट भए पनि ३३ प्रतिशत पुर्‍याउनू भनेको छ। दलहरूले यसैको फाइदा उठाउँदै प्रत्यक्ष चुनावमा धेरै महिला नउठाउने प्रवृत्ति हरेकजसो निर्वाचनमा देखिँदै आएको छ।

दलहरूको यस्तै रवैयाले महिलाका लागि समानुपातिक र पुरूषका लागि प्रत्यक्ष निर्वाचन प्रणाली भन्दै आलोचना हुने गर्छ। यसले महिलाहरू प्रत्यक्ष चुनाव उठ्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न सहयोग पुगेको भनेर महिला नेता तथा अधिकारकर्मीले दलहरूको आलोचना पनि गर्दै आएका छन्।

यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पनि कुन पार्टीले प्रत्यक्षमा कति महिला उठाए भन्ने चासो छ। निर्वाचन आयोगका अनुसार यसपालि कुल ३ हजार ४ सय ८४ उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका छन्। तीमध्ये महिला संख्या जम्मा ३ सय ९५ छ।

विभिन्न राजनीतिक दलहरूबाट २ हजार २ सय ९७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गरेकामा महिलाहरू जम्मा २ सय ३५ जना छन्। स्वतन्त्र उम्मेदवारी दिने १ हजार १ सय ८७ मध्ये १ सय ६० जना महिला छन्।

हामीले नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायतले घोषणा गरेको उम्मेदवारहरूको अन्तिम सूची हेरेका छौं। सबभन्दा धेरै महिलालाई प्रत्यक्ष चुनाव लड्न टिकट दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ। रास्वपाले यसपालि १६ जना महिलालाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।

रास्वपाले झापा-१ मा निशा डाँगी, झापा-२ मा इन्दिरा रानामगर, मोरङ-५ मा आशा झा, मोरङ-६ मा रूबिना आचार्य, सुनसरी-१ मा सरिन तामाङ (गोमा), धादिङ-१ मा आशिका तामाङ, काठमाडौं-१ मा रञ्जु दर्शना, ललितपुर–३ मा डा.तोसिमा कार्की, चितवन-३ मा सोबिता गौतम, कास्की-३ मा बीना गुरूङ, जुम्लामा विनिता कठायत, हुम्लामा टासी ल्हाजोम, कैलाली–१ मा कोमल ज्ञवाली, महोत्तरी-४ मा गौरीकुमारी यादव, सर्लाही-१ मा नितिमा कार्की र सप्तरी-१ मा पुष्पा चौधरीलाई टिकट दिएको छ।

रास्वपापछि धेरै महिला उम्मेदवार उठाउनेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्छ। नेकपाले १३ जना महिलालाई उम्मेदवार बनाएको छ।

कञ्चनपुर–१ मा बिना मगर, नवलपरासी–१ मा सिन्धु जलेशा, मनाङमा यशोदा सुवेदी, चितवन–३ मा रेणु दाहाल, काभ्रे–२ मा वसुन्धरा हुमागाईं, काठमाडौं–१० मा रूपा महर्जन, काठमाडौं–५ मा कल्पना शर्मा, काठमाडौं–१ मा मेनका भण्डारी, रौतहट–३ मा पुनम देवी, सप्तरी–४ मा रूबीकुमारी कर्ण, सुनसरी–२ मा रामकुमारी चौधरी, संखुवासभामा सरिता खड्का र झापा–२ मा धर्मशीला चापागाईं नेकपाका महिला उम्मेदवार छन्।

महिला धेरै उठाउनेमध्ये तेस्रोमा नेपाली कांग्रेस परेको छ। यसअघिका चुनावमा कांग्रेस सबभन्दा थोरै महिलालाई प्रत्यक्ष चुनावको टिकट दिने पार्टीमध्ये भनिन्थ्यो। यसपालि भने कांग्रेसले ११ जना महिला उम्मेदवारलाई टिकट दिएको छ।

कांग्रेसका महिला उम्मेदवारहरू काठमाडौं–८ मा सपना राजभण्डारी जोशी, काठमाडौं-९ मा नानु बाँस्तोला, सिन्धुली–२ मा सुशीला थिङ, मकवानपुर–२ मा महालक्ष्मी उपाध्याय डिना, चितवन–२ मा मिना खरेल, झापा–५ मा मनधरा चिमोरिया, रूकुम पूर्वमा कुसुम थापा, झापा–२ मा सरिता प्रसाईं, सिरहा–४ मा चन्द्रकला कुमारी यादव, महोत्तरी–२ मा किरण यादव र दैलेख–१ मा बास्ना थापा छन्।

प्रमुख पार्टीमध्ये सबभन्दा कम महिला उम्मेदवार उठाउनेमा नेकपा एमाले परेको छ। एमालेले यसपालि १० जना महिला उम्मेदवारलाई टिकट दिएको छ।

बर्दिया–२ मा विमला विक, तनहुँ–१ मा भगवती न्यौपाने, बागलुङ–२ मा मञ्जु शर्मा चालिसे, धनुषा–३ मा जुली महतो, बारा–३ मा ज्वालाकुमारी साह, पर्सा–२ मा रिमाकुमारी यादव, सुनसरी–३ मा भगवती चौधरी, सोलखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापालाई एमालेले टिकट दिएको छ।

भर्खरै खुलेको नयाँ दल उज्यालो नेपालले जम्मा ७ जना महिलालाई टिकट दिएको छ।