११ स्वतन्त्रसहित उम्मेवारको अन्तिम नामावली प्रकाशन

११ स्वतन्त्रसहित उम्मेवारको अन्तिम नामावली प्रकाशन Ramaroshan
२०८२ माघ ०९ गते
११ स्वतन्त्रसहित उम्मेवारको अन्तिम नामावली प्रकाशन

कञ्चनपुर  । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । 

गत मंगलबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारको बुधबार मनोनयनपत्र र उजरी पत्रउपर जाँचबुझ कार्य सम्पन्न भई विहीबार उम्मेदवारलाई नाम फिर्ताको समय दिइएकोमा सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार, प्रतिनिधि सभा सदस्य ऐन, २०७४ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको हो । जिल्लामा ४४ दलीय उम्मेदवार तथा ११ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा क्षेत्र १ बाट ४ जना स्वतन्त्र उम्मेदवार र १५ विभिन्न दलका उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । 

प्रतिनिधि सभासदस्य निर्वाचन क्षेत्र १ को कार्यालयले बिहीबार उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरेको हो । प्रकाशित अन्तिम नामवलीअनुसार, पार्टीतर्फ नेपाली कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) बाट तारा लामा तामाङ, नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेपाली कम्युनिष्ट पार्टीबाट बीना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्लीबहादुर शाही उम्मेदवार हुनुहुन्छ । 

यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट कटकबहादुर शाही, नागरिक उन्मुक्ति पार्टीबाट कृष्णबहादुर चौधरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट पुरन राना थारु, संयुक्त नागरिक पार्टीबाट दानियल विश्वकर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देपेन्द्रबहादुर शाही, उज्यालो नेपाल पार्टीका माइकल तामाङ, राष्ट्रिय जनमोर्चाबाट राजाराम डगौरा चौधरी, आम जनता पार्टीबाट सिता विश्वकर्मा, मितेरी पार्टी नेपालबाट सियाराम राना र मंगोल नेशनल अर्गनाइजेसनबाट हुमबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ । 

साथै, क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका ४ जना स्वतन्त्र उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरिएको छ । स्वन्त्र उम्मेदवारतर्फ शुक्लाफाँटा नगपालिका –४ घर भएका २७ वर्षीय अनिल राना, बेलौरी नगरपालिका –६ रिछाहाका ४२ वर्षीय मन्जुदेवी सुनार, पुर्नवास नगरपालिका –१ का २७ वर्षीय यादव सिंह र बेलौरी नगरपालिका –१ मटैयाका ५१ वर्षीय रुपादेवी बिष्ट उम्मेदवार हुनुहुन्छ ।  

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा पनि चार स्वतन्त्र र १५ विभिन्न दलका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । प्रकाशित अन्तिम नामावलीमा दलतर्फ नेपाली कांग्रेसबाट नारायणप्रकाश साउद (एनपी), नेकपा (एमाले) बाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट माधवप्रसाद पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दिपकराज बोहोरा उम्मेदवार हुनुहुन्छ । 

यसैगरी, संयुक्त नागरिक पार्टीबाट खडक ताम्राकार, आम जनता पार्टीबाट जग्गु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट तीर्थराज चटौत, मितेरी पार्टीबाट तेजबहादुर बडवाल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मानन्द जोशी, नागरिक उन्मुक्ति पार्टीबाट प्रेमवती राना, उज्यालो नेपाल पार्टीबाट योगेन्द्रबहादुर साउँद, जनमत पार्टीबाट रामचन्द्र भट्ट, राष्ट्रिय जनमोर्चाबाट रामबहादुर कार्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट लोकेन्द्रबहादुर बिक तथा नेपाल मजदुर किसान पार्टीबाट सिताराम राना उम्मेदवार बन्नुभएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका चार जना स्वतन्त्र उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरिएको छ । जसमध्ये, कृष्णपुर नगरपालिका ९ का ३१ वर्षीय विरेन्द्र राना, बेदकोट नगरपालिका –७ का ३८ वर्षीय भानुभक्त बोहरा, शुक्लाफाँटा नगरपालिका ४ का ४५ वर्षीय सिद्धराज जोशी, र शुक्लाफाँटा नगरपालिका १ का ३५ वर्षीय हरिसबहादुर भट्ट उम्मेदवार बन्नुभएको छ । 

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ बाट १५ विभिन्न दलका उम्मेदवार तथा ३ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालयले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । 

प्रकाशित अन्तिम नामावली अनुसार, दलतर्फ नेकपा (एमाले) बाट दीपकप्रकाश भट्ट, नेपाली काँग्रेशबाट हरिप्रसाद बोहरा, नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुर्ण बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र सिंह महता उम्मेदवार हुनुहुन्छ । 

यसैगरी, उज्यालो नपाल पार्टीबाट भीमबहादुर कुमाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट विष्णुप्रकाश उपाध्याय, राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, आम जनता पार्टी (एकल चनाव चिन्ह) बाट लक्ष्मीकुमारी बिष्ट भट्ट, श्रम संस्कृति पार्टीबाट गंगादत्त जोशी, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) बाट लोकराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट कर्णबहादुर चन्द, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी र मितेरी पार्टी नेपालबाट किरन थापा उम्मेदवार बन्नुभएको छ । 

साथै, क्षेत्र नम्बर ३ कार्यालयमा उम्मेदवारी दर्ता गराएका तीन जना स्वतन्त्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । स्वतन्त्र उम्मेदवारतर्फ हर्कबहादुर ऐर, वीरसिंह क्षेत्री र थानेश्वर लेखक हुनुहुन्छ ।