कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नयाँ अनुहारहरूबीच रोचक प्रतिस्पर्धा
धनगढी, १५ माघ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ। मुख्यगरी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह, एमालेका यज्ञ ढुंगाना, नेकपाका प्रेम आले र रास्वपाका आनन्दबहादुर चन्द यी चारै जना यस क्षेत्रमा पहिलो पटक चुनाव लड्दैछन्।
यसअघि कांग्रेस नेतृ डा आरजु राणा देउवाले निर्वाचन लडेर पराजय भोगेको यस क्षेत्रमा यसपटक पनि उनको उम्मेदवारीको चर्चा चलेको थियो। कांग्रेसले जिल्लाबाट आरजुसहित तीन जनाको नाम सिफारिस गरेको थियो। तर कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि आरजुको चर्चा हरायो र कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले टिकट पाए। उनले पहिलो पटक आफूलाई निर्वाचनमा उभ्याएका छन्।
यसैगरी नेकपा एमालेबाट जिल्ला अध्यक्ष यज्ञ ढुंगाना चुनावी प्रतिस्पर्धामा छन्। उनी पनि पहिलो पटक चुनाव लड्दैछन्। यसअघि दुई पटक यस क्षेत्रबाट चुनाव लडेका एमाले नेता नारदमुनी रानाले यसपटक टिकट पाएनन्। रानाले २०७४ सालको निर्वाचनमा कांग्रेसकी नेतृ आरजु देउवालाई झण्डै पाँच हजार मतान्तरले पराजित गरेका थिए। तर उनै राना २०७९ को निर्वाचनमा कांग्रेसका डिल्लीराज पन्तसँग एक हजार मतान्तरले पराजित भएका थिए।
यता नेकपाबाट पनि यस क्षेत्रका लागि नयाँ अनुहार प्रेम आले चुनावी प्रतिस्पर्धामा छन्। डोटीबाट पटक९पटक निर्वाचन लडेर मन्त्रीसमेत बनेका आले कैलाली ५ का लागि भने नयाँ अनुहार हुन्। रास्वपाबाट आनन्दबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन्। उनी पनि यस क्षेत्रका लागि एकदमै नयाँ अनुहार हुन्।
यस क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेको बताइए पनि निर्वाचनको परिणाम भने फरक - फरक आउने गरेको छ। २०४८ सालदेखि २०७९ सम्म हेर्दा चार पटक कांग्रेसका उम्मेदवार विजयी हुँदा दुई पटक एमाले र एक पटक तत्कालीन माओवादीले चुनाव जितेको इतिहास छ। यसै निर्वाचन क्षेत्रमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले समेत २०७० मा निर्वाचन जितेका थिए।
अहिले कांग्रेसले कैलाली जिल्लाको दुई पटक सभापति भइसकेका प्रदेश महामन्त्री नरनारायण शाहलाई उम्मेदवार बनाएपछि उनका पक्षमा सबै कांग्रेसी एकजुट भएर खटिएको कांग्रेस कैलालीका सचिव नृप सुनार बताउँछन्। उनले सबैले रुचाएका उम्मेदवार कांग्रेसले अघि सारेको कारण र संगठन पनि बलियो रहेकाले कांग्रेसको जित सुनिश्चित भएको बताए। शाह राजनीतिसँगै यस क्षेत्रमा लामो समयदेखि विभिन्न सामाजिक संस्थामा सक्रिय छन्। खासगरी उनलाई सबैले मिलनसार, सहयोगी र निष्कलंक नेताका रूपमा चिन्ने गर्छन्।
एमालेका उम्मेद्वार यज्ञ ढुंगाना पनि युवा तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका कारण जितको सम्भावना रहेको एमाले पक्षको दाबी छ। यस क्षेत्रका एमाले नेता धर्म पाठकले एमालेको संगठन चुस्तदुरुस्त रहेको र सबै एकजुट भएकाले यसपटक एमालेले जित्ने दाबी गरे।
कांग्रेस र एमालेको तुलनामा नेकपाको संगठन कमजोर रहे पनि चुनावी मैदानमा रहेका प्रेम आले व्यक्तिगत रूपमा धेरै मत आकर्षित गर्न सक्ने नेकपाका नेताहरू बताउँछन्। नेकपाका नेता एवं यसै निर्वाचन क्षेत्रको प्रदेश सभा ९क० बाट निर्वाचित सदस्य रमेश धामीले नेकपाको देशभरको लहर र उम्मेदवारको व्यक्तिगत छविका कारण नेकपा पनि कडा प्रतिस्पर्धामा रहेको बताए।
रास्वपाको बाहिर संगठन नदेखिए पनि शहरी क्षेत्र भएका कारण भित्रभित्रै आफ्ना मतदाता रहेको रास्वपाका नेता हरि रेग्मीले बताए। उनले शहरी क्षेत्र परिवर्तनको पक्षमा हुने हुँदा कैलाली ५ मा पनि यसपटक परिवर्तन हुने दाबी गरे।
हाल सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको यस निर्वाचन क्षेत्रमा सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दाको बाहुल्यता रहे पनि देशभरका सबै जिल्लाका नागरिकको पनि बसोबास रहेको छ।
यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा वडा पर्दछन्। यसअघिको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए। १९ वडामध्ये १२ वडा कांग्रेसले जिते पनि मेयर भने गुमाएको थियो। उपमेयर सहित पाँच वटा वडा एमालेले जितेको थियो। तत्कालीन माओवादी केन्द्रले दुई वटा वडा मात्रै जितेको थियो।

