दैवी प्रकोप पीडितको निहुँमा कैलालीमा वर्षेनि मासिँदै वन

 दैवी प्रकोप पीडितको निहुँमा कैलालीमा वर्षेनि मासिँदै वन Ramaroshan
२०८२ माघ १७ गते
 दैवी प्रकोप पीडितको निहुँमा कैलालीमा वर्षेनि मासिँदै वन
यमुना साउद, धनगढी/ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि पूर्व हुलाकी राजमार्ग हिँड्नु भयो भने ३३ किलोमिटर पर जंगल बीचमा गाउँ देखिन्छ । त्यही हो, अन्तर्राष्ट्रिय जैविक मार्ग रहेको वसन्ता जंगल । कुनै बेला हात्ती, बाघ, चित्तल लगायतका जंगली जनावरको राम्रो विचरण थियो वसन्तामा । तर, अहिले वसन्ता जंगल फँडानी भएर भुइँयाफाटा लगायतका गाउँका बस्ती बसिसकेका छन् । त्यही जंगलमा अहिले १ हजार ४ सय ३५ परिवार बस्दै आएका छन् ।
 
कैलारी गाउँपालिका–७, भुइँयाफाटा कैलालीकी ६० वर्षिया जवुना चौधरी १७ वर्षदेखि त्यही वसन्ता जंगलमा घर बनाएर बसिरहेकी छिन् । २०६४ असोज ४, ५ र ६ गते मोहना र कटैनी नदीमा आएको बाढीले बसन्ता क्षेत्रका ७ गाउँ डुबानमा परे । ४३ वर्षदेखि भुइँयाफाटा गाउँ (पुरानो बस्ती, जुन अहिले विस्थापित बनेको छ) मा बस्दै आएकी थिइन् । मोहना र कटैनी नदीका कारण केही मात्रामा बाढी आए पनि गाउँ नै डुवान र विस्थापित हुनेगरी २०६४ सालमा आएको बाढी सम्झँदै स्थानीय चन्द्रिकाप्रसाद चौधरीले भने,‘कटैनी र मोहना नदीले धार परिवर्तन गरेपछि भने यहाँका ७ वटै गाउँमा बाढी पसेको हो, त्यसबेलादेखि हरेक वर्ष यहाँ बाढी आउँछ ।’
 
जंगलमा मानव वस्ती !  
२०६४ को डुबान परेपछि भुइँयाफाटाकी जबुनासँगै ७ गाउँका परिवार नजिकैको सामुदायिक वनमा आश्रय लिन गए । सुरुमा उनीहरुले बाढीबाट बच्न जंगलमा टहरा बनाए । पछि सबैले घर बनाउन थालेपछि जबुनाले पनि घर बनाइन् र विगत १७ वर्षदेखि त्यही बस्दै आएकी छिन् । वर्षायाममा मोहना नदीले बस्ती कटान गर्न थालेपछि स्थानीयले पटक पटक जैविक तटबन्धन गरे । तर, पनि बस्ती जोगाउन सकेनन् । बाढी गाउँमा पस्यो । घर डुबे । स्थानीय रातारात जंगल सरे । मोहना र कटैनी नदीको बाढीले भुइँयाफाटा, छुट्की बसन्ता, बड्का बसन्ता, बैचपुर, मनकापुर, बन्दरगौडी र मझरा गाउँका १ हजार ४ सय ३५ परिवार बसन्ता जैविक मार्ग रहेको जंगलमा सरे । उनीहरु त्यही जंगलमा १७ वर्षदेखि बस्दै आएका छन् ।
बाढीबाट विस्थापितहरुले २०६४ सालमा स्थानीय पवेरा सामुदायिक वन, खैरहुवा शिव सामुदायिक वन, वसन्ता सामुदायिक वन र लठ्ठहुवा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । मानव बस्ती बस्नु अघि यो ठाउँ घना जंगल भएको स्मरण गर्दै पूर्व डिएफओ तथा वनविज्ञ रमेश चन्द ठकुरीले भने,‘वसन्ता भनेको भावर क्षेत्र हो, जुन तराइ क्षेत्रकै ठूलो चारकोसे झाडी बराबरकै जंगल भएको स्थानमा पर्छ ।’ वसन्ता क्षेत्रलाई स्थानीयले बड्का वन भनेर पनि चिन्ने गरेको बताउँदै उनले भने,‘थारु भषामा बड्का वन भनेको सबैभन्दा ठूलो वन हो, जहाँ बाघ, भालु, हात्ती लगायतका जंगली हिंस्रक जनावरको वासस्थान हो ।’ हेर्दाहेर्दै वसन्ता वन क्षेत्र अहिले बस्तीमा परिणत भइसकेको उनले बताए । उनले भने,‘त्यस्तो डरलाग्दो जंगलमा हेर्दाहेर्दै अहिले बस्ती बसीसक्यो, सडक बने, विजुलीका तार तानिए भने स्वास्थ्य चौकीदेखि वडा कार्यालयसम्म बनिसकेका छन् ।’
वसन्ता क्षेत्र मात्रै होइन, कैलालीका अधिकांश वन क्षेत्र अतिक्रमणको चपेटामा छन् । वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गसँगै जोडिएको भजनी नगरपालिकामा पनि बाढी पीडितका नाममा वन अतिक्रमण तीब्र छ । भजनीको वडा नम्बर १ स्थित मोहन्याल सामुदायिक वन उपभोक्ता समितिको ४ दशमलव २२ हेक्टर जमिनमा २० घरधुरी रहेका छन् । उनीहरुले २०६४ मा बाढी पीडित बनेका थिए । २०६४ देखि सोही ठाउँमा टहरो बनाएर बाढी पीडित बस्दै आएका छन् । भजनी नगरपालिका वडा नम्बर ७ स्थित हिक्मतपुर सामुदायिक वन उपभोक्ता समितिको ७ दशमलव ८ हेक्टर जमिन अतिक्रमण गरी ६० परिवार बसोबास गरिरहेका छन् । उनीहरु २०७८ को बाढी डुबानामा परेका थिए ।
 
बाढी पीडितका नाममा वर्षैदेखि सामुदायिक वनको जमिन अतिक्रमण गरेर बसिरहेको बताउँदै सब डिभिजन वन कार्यालय भजनीका कर्मचारी प्रकाश महरले भने,‘वर्षाको समयमा बाढी आउने भएकाले बस्न नमिल्ने भन्दै जग्गा जमिन भएकाहरु पनि सोही क्षेत्रमा वर्षौदेखि बसिरहेका छन् ।’ खेतीपातीका लागि खेत तथा जमिन भए पनि होँचो ठाउँमा पानी जम्ने भएकाले घर बनाउन नसकिने भन्दै जंगलमा आश्रय लिएर बसिरहेको बाढी पीडितलाई उद्घृत गर्दै प्रकाशले बताए ।
 
पहिरो पीडितका नाममा चुरे गाउँपालिका वडा नम्बर ४ स्थित पनेरुगडामा विगत ५ वर्षदेखि १६ घर परिवार बस्दै आएका छन् । उनीहरुले डेढ हेक्टर जमिन अतिक्रमण गरी घर टहरा बनाएका छन् । डिभिजन वन कार्यालय कैलाली र सव डिभिजन वन कार्यालय खैरालाले पनेरुगडामा अतिक्रमण गरी बसेका करिब २ सय घर परिवारलाई हटाए पनि पुनः १६ घरपरिवार भने फर्केर त्यही आएका छन् । उनीहरुले आफूहरुसँग बसोबासका लागि जमिन नभएपछि पुनः फर्केर त्यही ठाउँमा आएको बताउँदै आएका छन् । ‘पहिरो पीडितका नाममा ५ वर्षदेखि पनेरुगडामा अतिक्रमण गरेर १६ परिवार बस्दै आएका  छन्,’ सव डिभिजन वन कार्यालय खैरालाका प्रमुख समीर थापाले भने,‘त्यहाँबाट पटक पटक हटाउँदा पनि पुनः आएर बसेका छन् ।’
 
पनेरुगडा जस्तै बालुवागडा स्थित सूर्यमुखी आधारभूत विद्यालयको जमिन अतिक्रमण गरी १६ घरधुरी बस्दै आएका छन् । उनीहरु त्यसअघि टाकगडामा अतिक्रमण गरी बसेका थिए । डिभिजन वन कार्यालय कैलाली र सव डिभिजन वन कार्यालय खैरालाले टाकगडाबाट उनीहरुलाई हटाएको थियो । टाकगडाबाट हटाइएपछि आफूहरुलाई पहिरो पीडित भन्दै आएकाहरुले सूर्यमुखी आधारभूत विद्यालयको १ हेक्टर जमिन अतिक्रमण गरी बसेका हुन् । कैलालीको कूल क्षेत्रफल ३ लाख ३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये २ लाख ५ हजार हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । जसमा २५ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । दुर्भाग्य, सरकारी आँकडामा भने यो अतिक्रमित क्षेत्रफललाई वनमा नै गणना गरिएको छ ।
 
कैलालीमा त्यस्तो बाढी किन आउँछ ? 
हरेक वर्षायाममा कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिणमा भारतले घाँघरा (कर्णाली) नदीमा गिरिजापुरी बाँध (कैलाशपुरी बाँध) बनाएर बाँधको ढोका थुन्ने गरेका कारण पछिल्लो समयमा कैलाली डुबानको चपेटामा पर्ने गरेको हो । बाँधको ढोका थुनिएपछि कर्णाली, मोहना, कनरी, कान्द्रा, पथरैया, काँढा, कटैनी, खुटियालगायत ठूला–साना नदीको पानीको बहाव रोकिन गई कैलालीको दक्षिणी क्षेत्र हरेक वर्षको बर्खायाममा डुबानमा पर्ने गरेको छ । ‘कैलालीको चुरेबाट निस्केका मोहना, कनरी, कान्द्रा, पथरैया, काँढालगायत नदी कर्णाली नदीमा मिसिन्छन् ।
 
भारतले आफ्नो जमिन डुबानबाट जोगाउन घाँघरा (कर्णाली) नदीमा गिरिजापुरी बाँध (कैलाशपुरी बाँध) बाँधेकै कारण कर्णाली नदी थुनिएर कर्णालीमा मिसिएका साना ठूला सबै नदीको बहाव रोकिन गई कैलाली डुबानमा पर्ने गरेको विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत चक्रबहादुर बम बताउँछन् । उनी भन्छन्,‘पहाडमा जथाभावी सडक बनाउने र चुरे दोहोनले पनि माथिको माटो तथा ढुंगा बालुवा तराइको समथर क्षेत्रमा थुप्रिन गई नदीको सतह माथि आउनु पनि बाढीको अर्को कारण हो ।’ गिरिजापुरी बाँधकै कारण कर्णाली र यसका सहायक नदी थुनिन गई टीकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी पच्चीस घर, उर्मीलगायतको भूभाग डुबानमा पर्ने गरेको छ ।
 
कहाँ कति छ अतिक्रमण ? 
दैवी प्रकोप पीडितका नाममा वर्षेनि सुदूरको वन मासिँदै छ । बाढी पीडित, पहिरो पीडित, आरक्षण पीडितका साथै सुकुमबासी र राजनीतिक दलको आडमा वन क्षेत्र अतिक्रमणमा पर्दै गएको छ । नेपालको कुल वन क्षेत्रको झण्डै आधा क्षेत्रफल सुदूरपश्चिममा रहेको छ । वन विभागका अनुसार सुदूरपश्चिमको वन क्षेत्रले कुल वन क्षेत्रको ४८ प्रतिशत भू–भाग ओगटेको छ ।
 
सुदूरपश्चिममा पनि सबैभन्दा बढी वन क्षेत्र कैलाली र कञ्चनपुरमा रहेको छ । वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी छ । कैलाली र कञ्चनपुरको झण्डै २८ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । कैलालीमा  २५ हजार र कञ्चनपुरमा ३ हजार १ सय ९५ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । बाढी पीडित, मुक्त कमैया, सुकुम्बासी लगायतले वन अतिक्रमण गरेका छन् । अतिक्रमित वन क्षेत्र खाली गराउने जिल्ला वन कार्यालयको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । राजनीतिक दल लगायतको संरक्षणमा वन अतिक्रमण भइरहेको छ । वन अतिक्रमणकारीलाई विभिन्न संघसंस्थाहरुले समेत सहयोग गर्दै आइरहेका छन् ।