देउवाबिना डडेल्धुरामा कांग्रेसले जोगाउन सक्ला विरासत ?

देउवाबिना डडेल्धुरामा कांग्रेसले जोगाउन सक्ला विरासत ? Ramaroshan
२०८२ माघ १८ गते
देउवाबिना डडेल्धुरामा कांग्रेसले जोगाउन सक्ला विरासत ?

धनगढी । २०४८ सालयता देशमा सातवटा संघीय चुनाव भइसकेका छन् । आठौँ चुनाव सम्मुखमा छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ । उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा भने यसपटक चुनावी माहौल भने भिन्न छ । २०४८ सालपछि शेरबहादुर देउवाबिनको निर्वाचन हुन गइरहेको छ, डडेल्धुरामा । विशेष महाधिवेशनमार्फत कांग्रेस सभापतिबाट हटाइनुअघि देउवा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट ‘अन्तिम निर्वाचन’ लड्ने तयारीमा थिए । तर, सभापति पद गुमेसँगै उनले निर्वाचन नलड्ने घोषणा गरे ।

देउवा उम्मेदवार नभएसँगै साढे तीन दशकपछि डडेल्धुराले नयाँ संघीय प्रतिनिधि पाउनेछ, २१ फागुनको निर्वाचनबाट । यसअघि भएका सात निर्वाचनमा अपराजित थिए, देउवा । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका आमनिर्वाचनमा विजयी भएका देउवाबिना यसपटक डडेल्धुरामा विरासत जोगाउने लक्ष्यमा कांग्रेस छ । देउवा चुनाव नलडेपछि नैनसिंह महर कांग्रेसबाट चुनावी मैदानमा छन् । डडेल्धुराकै भागेश्वर गाउँपालिकास्थित लामीकाँडेका महरसँग नेपाल विद्यार्थी संघको सभापति भइसकेको अनुभव छ । उनी पार्टीको १४औँ महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

महर २००७ सालदेखि हालसम्मका प्रत्येक परिवर्तनलाई संस्थागत गर्दै आएको, लोकतन्त्रको संवाहक र ऐतिहासिक जिम्मेवारी कुशलतापूर्वक वहन गरेको पार्टीबाट आफू उम्मेदवार भएको भन्दै चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन् । उनले समृद्ध डडेल्धुराको खाका नै तयार पारिसकेको बताएका छन् । ‘डडेल्धुराको विकासलाई गति दिन तथा दिगो विकास लक्ष्य हासिल गर्न र संविधानको कार्यान्वयन गर्न मसँग स्पष्ट र एकीकृत योजना छ,’ महरले भने, ‘रणनीतिक रूपमा पूर्वाधारको विकास गर्दै डडेल्धुरालाई पहाडकी रानीका रूपमा रूपान्तरण गर्ने योजना छ ।’

डडेल्धुरामा कांग्रेसको बलियो संगठन नै आफ्नो जित्ने मुख्य आधार भएको बताउँछन् महर । ‘यहाँ हाम्रो संगठन निकै बलियो छ, हाम्रो फाउन्डेसन नै जित्ने मुख्य आधार हो,’ महरले भने, ‘यहाँ नागरिकले कांग्रेसलाई २०१५ सालदेखि नै मनपराइरहेका छन् । डडेल्धुरामा भएका सबै खाले परिवर्तन कांग्रेसकै नेतृत्वमा भएका छन् ।’ निवर्तनमा सभापति देउवाले आफू उम्मेदवार नबन्ने घोषणा गरेर आफूलाई प्रतिनिधि पात्रका रूपमा पठाएको दाबी महरको छ । ‘अहिले पनि उहाँ ९देउवा० उम्मेदवार मात्रै हुनु हन्न,’ उनले भने, ‘तर, हाम्रो अभिभावक र संरक्षक त उहाँ नै हो ।’ निर्वाचनअघि देउवा गृहजिल्ला आउने कार्यक्रम रहेको पनि चर्चा छ ।

डडेल्धुरामा कांग्रेसपछि सांगठनिक रूपमा बलियो छ, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० । नेकपाबाट देउवाका सदावहार प्रतिस्पर्धीका रूपमा रहेका खगराज भट्ट पनि अहिले चुनावी मैदानमा छैनन् । उनी २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए । यसपटक नेकपाले मानसिंह माललाई चुनावी मैदानमा उतारेको छ । माल जिल्लाले पटकपटक प्रधानमन्त्री पाए पनि अपेक्षाकृत काम हुन नसकेको भन्दै मतदाता रिझाइरहेका छन् । ‘डडेल्धुरामा सम्भावना थुप्रै छन्, जिल्लालाई शिक्षा र स्वास्थ्यको हव बनाउन सकिने सम्भावना छ,’ उनी भन्छन्, ‘तर, सम्भावनाअनुसार काम हुन सकेको छैन ।’ अहिले देशमा युवाहरूको माग भइरहेको बताउँदै मालले आफू युवाकै प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

‘म अहिलेसम्म कुनै पनि लाभको पदमा बसेको छैन, वडा सदस्यसम्म पनि चुनाव लडेको छैन,’ उनी भन्छन्, ‘अहिलेका युवाहरूको चाहना बेदागी जनप्रतिनिधि हो । त्यो चाहना म निर्वाचित भएँ भने पूरा हुन्छ । मैले जित्ने आधार पनि यही हो ।’ डडेल्धुरामा कांग्रेसको विरासत भत्काउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले डा। ताराप्रसाद जोशीलाई मैदानमा उतारेको छ । जोशी डडेल्धुरामा एमालेको संगठन निर्माणकर्ताका रूपमा परिचित नेता हुन् । उनी एमाले छोड्दै एकीकृत समाजवादीमा गएका थिए । २०७९ सालको प्रदेशसभा निर्वाचनमा एकीकृत समाजवादीले डडेल्धुरामा सिट पाएन । उनी उक्त पार्टी पनि परित्याग गरेर स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिए र चुनाव जिते ।

त्यसपछि जोशी उज्यालो नेपाल पार्टीमा प्रवेश गरे । उनी केही समयअघि मात्रै रास्वपामा गएका हुन् । अहिले उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनीसँग कांग्रेसका निवर्तमान सभापति देउवाविरुद्व चुनाव लडेको पनि अनुभव छ । उनी रास्वपासँगै एमाले, कांग्रेस र नेकपाबाट असन्तुष्ट मतदाताको साथ पाउने अपेक्षामा छन् । ‘नयाँको भावना र पुरानाको अनुभव आजको आवश्यकता हो,’ जोशी भन्छन्, ‘म त्यो कुरालाई प्रतिनिधित्व गर्छु । मसँग राष्ट्र निर्माणका लागि स्पष्ट मार्गचित्र पनि छ ।’

डडेल्धुरामा भएका संघीय निर्वाचनमा भने एमालेले १२ वर्षपछि उम्मेवार उठाएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने एमालेले देउवाविरुद्ध उम्मेदवार उतारेको थियो । त्यसबेला एमालेका उम्मेदवार थिए, अहिलेका रास्वपाका उम्मेदवार डा। ताराप्रसाद जोशी । जोशी उक्त निर्वाचनमा तेस्रो भएका थिए ।

यसपटक डडेल्धुरामा एमालेले चक्र स्नेहीलाई उम्मेदवार बनाएको छ । लोकतन्त्र बचाउन, जिल्लामा समृद्धि ल्याउन र अराजकतालाई किनारा लगाउन आफू उम्मेदवार बनेको स्नेहीको भनाई छ । ‘एमालेले राष्ट्र, राष्ट्रियता र विकासको पक्षमा गरेको काम नै मेरो चुनाव जित्ने आधार हो,’ स्नेही भन्छन् । यस्तै, राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट तथा स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐरको डडेल्धुरामा उम्मेदवारी छ ।