कैलाली–४ मा एमालेको सम्पर्क कार्यालय स्थापना
अत्तरिया / कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । आज एमाले क्षेत्र नम्बर ४ ले एक कार्यक्रमको आयोजना गरी एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले उद्घाटन गरेका हुन् ।
क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै भट्टले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस सँग एमालेको प्रतिस्पर्धा हुने बताउँदै उनले अन्य प्रतिस्पर्धी पनि कमजोर नठानेको बताए ।
उनले आफ्नो जित केबल यो निर्वाचन क्षेत्रको लागि मात्रै नभएर सिङ्गो सुदूरपश्चिमको लागि हुने जिकिर गरे । उनले सुदूरपश्चिममा प्रदेशमा एमालेले १२ ओटा सिट जित्ने दाबी गरे ।
कार्यक्रममा समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य हरि शंकर योगी, भर्खरै निर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेश सांसद धर्मराज पाठक लगायतको उपस्थिति रहेको थियो ।
अत्तरिया स्थित धनगढी रोडमा गरिएको सचिवालय स्थापनासँगै एमालेले क्षेत्र स्तरमा सङ्गठन सुदृढ गर्दै चुनावी गतिविधि थप सक्रिय बनाउने जनाएको छ । मतदाता समन्वय र प्रचार–प्रसारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । कैलाली क्षेत्र नम्बर ४ मा एमालेले लेखराज भट्टलाई उम्मेदवार बनाएको छ ।
यस्तै एमालेका केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मूल निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । जसको उपसचिवमा भागीरथी विष्ट र सचिवमा गणेश जिमी साउँद रहेका छन् ।

