३२ करोडको लागतमा गोदावरीका ८ वटा सडकको निर्माण कार्य सुरु

३२ करोडको लागतमा गोदावरीका ८ वटा सडकको निर्माण कार्य सुरु Ramaroshan
२०८२ माघ २० गते
३२ करोडको लागतमा गोदावरीका ८ वटा सडकको निर्माण कार्य सुरु

अत्तरिया/ कैलालीको गोदावरी नगरपालिकाभित्रका ८ वटा सडकको निर्माण कार्य सुरु भएको छ । सोमबार एशियाली विकास बैंक (एडिबि) को ऋण सहयोगमा क्षेत्रिय सहरी विकास आयोजनाले नगरक्षेत्रमा निर्माण गर्न लागेका ८ वडा सडकको नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका छन ।

३२ करोड ५९ लाख ५३ हजार ५१६ रुपैयाको कुल लागतमा उक्त सडकहरु निर्माणको जिम्मा एमरएस केएसएनएस–बिसिपिएल जेभिले पाएको छ । निर्माण कम्पनिका ईन्जिनियर भुपेन्द्र कुमार मण्डलले नगरका विभिन्न ८ वटा सडकहरु निर्माण गरिने बताए । उनले कुल ८.२३ किलोमिटर सडक निर्माण गरिने बताए । उनका अनुसार निर्माण हुने सडकहरुमा ड्रेन, केही भागमा फुटपाथ र स्ट्रिट लाईटको पनि व्यवस्था रहेको छ । त्यतिमात्रै नभई स्विपिङ मेसिन र सिभरजेट मेसिन पनि प्रोजेक्ट अन्तरगत रहेको इन्जिनियर मण्डलले बताए ।

नगरप्रमुख भट्टले करिब २ वर्ष अघिदेखीको मेहनत बल्ल आएर सफल भएको बताए । उनले धेरै प्रयास पश्चात नगरका ८ वटा सडकहरु निर्माणका लागि बजेट ल्याउन सकिएको बताए । उनका अनुसार बिजौरा देखी आँखा अस्पताल हुदैँ ६ लेन सडक जोड्ने बाटो, मालाखेती अस्पताल देखी कृष्णमन्दिर सम्मको बाटो, ग्वासी मावि हुदै फल्टुडे जोड्ने सडक, अत्तरिया–रिङरोड, शान्तिमार्ग रोड, लालपुर गौडी रोड लगायत रहेका छन ।

नगरप्रमुख भट्टले उक्त सडकहरु निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनिले समय अगावै गुणस्तरिय कार्य गरि सम्पन्न गर्ने कुरामा आफू विस्वस्त रहेको बताए । ‘उहाँहरु (ठेकेदार कम्पनि) ले यसअघि हाम्रो नगरमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य पनि समय अगावै गर्नुभएको थियो’ उनले भने ‘अहिले यि सडकहरु निर्माणको काम पनि सोही कम्पनिले पाएको छ, त्यसैले विगतमा जस्तै अहिले पनि सडक निर्माणको काम गुणस्तरिय रुपमा छिट्टै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

उनले एडिबिको सहयोगमा निर्माण हुन लागेका सडकहरु निर्माण सम्पन्न भए यहाँका स्थानियहरुलाई एकदमै ठुलो राहत हुने बताए । एडिबिसँग अन्य विकास निर्माणका विभिन्न योजनाहरु माग गरेको समेत नगरप्रमुख भट्टको भनाई छ ।