जेनजी आन्दोलनका क्रममा भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती

जेनजी आन्दोलनका क्रममा भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती Ramaroshan
२०८२ माघ २५ गते
जेनजी आन्दोलनका क्रममा भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती

धनगढी । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती थपिएको छ । कैलाली कारागारबाट फरार भएका धेरै कैदीबन्दी अझै कारागार नफर्केपछि प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको हो । १०१ किलोमिटर नेपाल–भारत अन्तर्राष्ट्रिय खुला सिमाना रहेको यो जिल्ला त्यसै पनि संवेदनशील मानिन्छ । यहाँका धेरै मतदानस्थल अति संवेदनशील छन् । 

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर प्रशासनले सतर्कता बढाएको छ । फरार कैदीबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सतर्कताका लागि उनीहरूको फोटोसहितको विवरण सार्वजनिक गरिएको छ । भदौ २४ गते कारागारबाट फरार भई हालसम्म पनि सम्पर्कमा नआएका कैदीको फोटोसहितको विवरण प्रशासनले सार्वजनिक स्थलमा टाँस गरेको छ । कारागार कार्यालयका अनुसार भागेमध्ये आधाभन्दा बढी कैदीबन्दी कारागार फर्के पनि २२२ जना अझैँ फरार छन् । फरार रहेकामध्ये कतिपय कैदीबन्दी गम्भीर अपराधका पनि रहेका छन् । फरार कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । फरार रहेका कैदीको फोटोसहितको विवरण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायतका सरकारी कार्यालयको मूल गेटमा टाँसिएको छ ।