सुदूरपश्चिम प्रदेशसभामा नेकपा सबैभन्दा ठूलो दल, नेतामा खगराज भट्ट चयन
धनगढी /सुदूरपश्चिम प्रदेशको नेपाली काम्न्युष्ट पार्टीको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेश सभामा दलहरूको हैसियत फेरिएको छ ।
पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको र संसदीय दलका अरू पदाधिकारी भने निर्वाचनपछि चयन गरिने छन् । २१ सदस्यसहित नेकपा सबैभन्दा ठुलो दल बनेको संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । नेकपा मओवादी केन्द्र, नेकपा सामजबादी र नागरिक उन्मुक्ती पार्टी एकिकरण भएपछि सुदूरपश्चिममा पनि संसदीय दल पुर्नगठन गरिएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकले उक्त निर्णय औपचारिक रूपमा सचिवालयमा बुझाएको छ ।
साविक माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका तीन जना (एक जना निलम्बनमा) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य गरी कुल २१ सदस्य पुगेपछि नेकपा पहिलो दल बनेको छ । यसअघि सबैभन्दा ठुलो दल रहेको कांग्रेसको हैसियत दोस्रो ठूलो दलमा पुगेको छ । प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपा र रास्वपाका एक–एक सांसद छन् ।
भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् ।

