दार्चुलामा बृद्वाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
दार्चुला/ दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमबहादुर रानाका अनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे । मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ । डीआईजी रानाकाअनुसार उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएका छन् ।
उनीहरू मध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए । उनीहरू लागूऔषध दुव्र्यशनीमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ । संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक ९सई० पदमबहादुर थापा नेतृत्वमा खटिएको टोलीले घटनाको सफल अनुसन्धान गरेको हो ।

