सुदूरपश्चिममा निर्वाचनको ९५ प्रतिशत पूरा, १५ हजार कर्मचारी खटिने
धनगढी / सुदूरपश्चिम प्रदेशमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि करिब ९५ प्रतिशत तयारी पूरा भएको छ । प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री पुगिसकेको र कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदेशका ७३४ वडामै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । कैलालीका १२६ वडासहित प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका वडामा मतदाता शिक्षा अभियान सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा करिब १५ हजार कर्मचारी खटिने भएका छन् । मतदानमा खटिने कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ भने फागुन १७ गतेभित्र सबै कर्मचारी निर्वाचन सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ । यस पटक प्रतिनिधि सभा निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुई वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ । प्रदेश निर्वाचन अधिकारी भट्टले निर्वाचन अवधिभर सूचना प्रवाहको शुद्धता कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन आम मतदाता तथा सञ्चारकर्मीलाई आग्रह गरे ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा फैलिने गलत सूचना र अपुष्ट समाचारले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भएकाले संयमित र तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको उनले जोड दिए ।
यो पटकको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० जना मतदाता रहेका छन् । प्रदेशभर एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा व्यवस्थासमेत सुदृढ पारिएको जनाउँदै सम्बन्धित निकायहरूले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने तयारी गरिएको बताएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा प्रदेशभर निर्वाचनको माहोल तातेको छ भने मतदाता शिक्षा, कर्मचारी परिचालन र सामग्री व्यवस्थापनका कामले तीव्रता पाएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

