सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर पनि ‘स्टाण्ड बाई’

सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर पनि ‘स्टाण्ड बाई’ Ramaroshan
२०८२ फाल्गुन १९ गते
सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर पनि ‘स्टाण्ड बाई’

धनगढी । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमको चुनावी सुरक्षाबारे अनुगमन-निरीक्षण गरे । सो क्रममा उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा निर्देशन पनि दिए । अनुगमनका क्रममा उनले विगतमा सुदूरपश्चिममा निर्वाचन विरोधी गतिविधि भएको र अब हुन नदिने बताए ।

 

`विगतमा यहाँ फर्जी मत हाल्ने, बुथ कब्जा गर्ने लगायतका निर्वाचन विरोधी गतिविधि भएका उदाहरण छन्,´ उनले भने, `यसपटक त्यस्ता गतिविधि रोकथाम गर्छौं । रोकथाम गर्दागर्दै पनि निर्वाचन विरोधी काम भए कानुनी कारबाही हुन्छ ।´

गृहमन्त्री अर्यालले भने जस्तै विगतका निर्वाचनमा सुदूरपश्चिमका केही जिल्लामा बुथ कब्जा, फर्जी मत, झडप र धाँधलीका घटना भएका छन् । बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो । बाजुरासंगै बझाङमा पनि फर्जी मत खसाल्ने प्रवृत्ति छ । विगतमा यी जिल्लाका कतिपय मतदान केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मतदान भएको थियो । 

प्रदेश प्रहरी कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमबहादुर रानाले एकीकृत सुरक्षा योजनाअनुसार काम भइरहेको बताउँदै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी पनि परिचालन गरिएको जानकारी दिए ।

मतदान स्थलमा नै सुरक्षाकर्मी परिचालनको कार्य भइरहेको डीआईजी रानाले बताए । `सात हजार बढी नेपाल प्रहरी, १३ हजार पाँच सय निर्वाचन प्रहरी र अन्य सशस्त्र र सेना गरेर ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरिरहेका छौं,´ डीआईजी रानाले भने । उनका अनुसार आज मध्यरातदेखि सुरु हुने मौन अवधिलाई लक्षित गर्दै थप सतर्कता अपनाइएको उनले बताए ।

डीआईजी रानाले प्रदेशमा एसएसपीसम्मलाई फिल्डमा खटाइएको जानकारी दिदै १७७ मोबाइल टोली र २० रिजर्भ टोली तयारी अवस्थामा राखिएको जानकारी दिए ।

अतिसंवेदनशील मतदान केन्द्रमा सिसी क्यामेरा पनि जडान भइरहेको र आवश्यक परे हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । १७ लाख बढी मतदाता र १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । यस्तै, ३०० सामान्य र ३९५ संवेदनशील मतदानस्थल छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील छन् ।