सहजपुरमा न्यायिक समितिको मेलमिलाप कार्यक्रम, गाउँस्तरमै विवाद समाधानमा जोड

सहजपुरमा न्यायिक समितिको मेलमिलाप कार्यक्रम, गाउँस्तरमै विवाद समाधानमा जोड Ramaroshan
२०८२ चैत्र ०७ गते
सहजपुरमा न्यायिक समितिको मेलमिलाप कार्यक्रम, गाउँस्तरमै विवाद समाधानमा जोड

धनगढी/ कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा न्यायिक समितिका मेलमिलाप केन्द्रहरूसँग वडा स्तरीय बैठक, दर्ता विवाद समाधान तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। चुरे गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा स्थानीय स्तरमै हुने झैझगडा तथा विवाद समाधानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा न्यायिक समिति संयोजक धना थापा, वडा नं. ३ का अध्यक्ष खगेन्द्र खडायत, वडा सदस्य यमुना बिक, न्यायिक समितिका दिपेन्द्र बम, सामुदायिक मेलमिलापकर्ता चर्कबहादुर खत्री तेजबहादुर बोहरा, स्वास्थ्य शाखा प्रमुख किशोर सिंह पदम धामी अमरबहादुर शाह मनिषा बडु निशा थापा गीता कोइराला र विभिन्न आमा समूह र स्वयंसेविका लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक धना थापाले गाउँघरमै हुने साना–ठूला विवादहरूलाई निशुल्क रूपमा समाधान गर्दै आएको जानकारी दिँदै प्रहरी कार्यालय वा अन्य निकाय धाउनुपर्ने अवस्था न्यूनीकरण गर्ने उद्देश्यले न्यायिक समितिले काम गरिरहेको बताइन्। उनले गाउँमा जाँड–रक्सीका कारण हुने झैझगडा, घरेलु हिंसा, लेनदेन विवाद, बहुविवाह, श्रीमान–श्रीमतीबीचका विवाद जस्ता समस्या अझै विद्यमान रहेको बताइन्। साथै बालविवाह तथा काम गराएर ज्याला नदिने जस्ता समस्या पनि देखिँदै आएको उनको भनाइ थियो।

वडा अध्यक्ष खगेन्द्र खडायतले समाजमा हुने विवाद समाधान गर्दा एक जनाले न्याय पाउँदा अर्को अन्यायमा नपरोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताए। उनले न्यायमा पहुँच नभएका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले गाउँघरमा कहिलेकाहीँ वास्तविक समस्या नभए पनि कृत्रिम रूपमा विवाद सिर्जना गर्ने, पीडितबाटै रकम असुल्ने जस्ता विकृतिहरू देखिन थालेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न परिवार र समाज दुवै सचेत हुनुपर्नेमा जोड दिएका थिए।

न्यायिक समितिले मेलमिलाप प्रक्रियामा आउने सबै पक्षको गोपनीयता कायम गर्ने र केवल देवानी प्रकृतिका मुद्दामात्रै हेर्ने गरेको स्पष्ट पारिएको थियो। साथै साना विषयलाई अनावश्यक रूपमा ठूलो बनाउने प्रवृत्ति अन्त्य गर्न पनि कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

चुरे गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजकको नेतृत्वमा यस्ता कार्यक्रम गाउँपालिकाका सबै ६ वटै वडामा सञ्चालन भइरहेका छन्। वडा–वडामा काम गर्ने क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरी न्यायिक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।