ओली , लेखकको रिहाइ र गृहमन्त्रीको राजीनामा माग गर्दै देशभर प्रदर्शन, सुरक्षा हाईअलर्ट

ओली , लेखकको रिहाइ र गृहमन्त्रीको राजीनामा माग गर्दै देशभर प्रदर्शन, सुरक्षा हाईअलर्ट Ramaroshan
२०८२ चैत्र १५ गते
ओली , लेखकको रिहाइ र गृहमन्त्रीको राजीनामा माग गर्दै देशभर प्रदर्शन, सुरक्षा हाईअलर्ट

धनगढी , १५ चैत /  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस नेता एवं पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि विरोध प्रदर्शन गरिएको छ । शनिबार कैलाली र कञ्चनपुर सदरमुकाममा केपी ओलीको रिहाइ र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । नेकपा एमालेका जनवर्गीय संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि विरोध प्रदर्शन गरेका हुन् । एमाले पार्टी कार्यालय धनगढीबाट सुरु भएको विरोध ¥याली विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । ¥यालीमा सहभागीहरूले सरकारले राजनीतिक पूर्वाग्रह राख्दै आफ्ना नेताहरूलाई पक्राउ गरेको आरोप लगाउँदै चर्का नाराबाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा बोल्दै एमालेका नेताहरूले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले सरकारले प्रतिशोधपूर्ण ढंगले अध्यक्ष ओलीसहित कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको आरोप लगाए । नेताहरूले राजनीतिक आस्थाका आधारमा गरिएका यस्ता पक्राउले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको बताएका छन । उनीहरूले सरकारलाई तत्काल आफ्नो निर्णय सच्याउँदै दुबै नेताको रिहाइ गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यदि अध्यक्ष ओलीलाई शीघ्र रिहा नगरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । उनीहरूले देशभर आन्दोलन विस्तार गर्ने तयारीसमेत रहेको बताएका छन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

उता कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा दुबै दलले सयुक्त रुपमा प्रदर्शन गरेका हुन् । कञ्चनपुर लेखकको गृहजिल्ला हो । कञ्चनपुरको महेन्द्रनगरमा सरकारविरुद्ध नारावाजी गर्दै टायर बालेर विरोध जनाइएको छ । प्रदर्शनमा ओली र लेखकलाई रिहाइ गर्न माग गरिएको छ । यस्तै गृहमन्त्री सुदन गुरुङको राजीनामा मागिएको छ ।

यसैबिच नेकपा एमाले बाजुराको आयोजनामा ओली र लेखकको गिरफ्तारीको विरोधमा बाजुरा सदरमुकाम मार्तडीमा विरोध कार्यक्रम गरिएको छ ।

बिरोध सभामा नेकपा एमालेका नेता , कार्यकर्ता र जनवर्गीय संगठनको सहभागीतामा विरोध कार्यक्रम बजार परिक्रमा गरी खुलामंचमा टायर समेत जलाएर बिरोध गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले आज पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरेको छ ।

सुरक्षा हाईअलर्ट

ओली र लेखक पक्राउ पछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नयाँ सरकार गठन, उच्च तहका नेताहरूको पक्राउ, र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असन्तोषलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूलाई ‘हाईअलर्ट’ मा बस्न निर्देशन दिइएको हो । प्रदेशभर सुरक्षा संयन्त्र सक्रिय र तयारी अवस्थामा रहेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट आएको सर्कुलरअनुसार सम्पूर्ण सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन भनिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले देशको समग्र परिस्थितिको मूल्यांकन गर्दै यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढ्ने सम्भावना देखिएकाले समयमै सतर्कता अपनाइएको हो ।

सुरक्षा तयारीलाई थप प्रभावकारी बनाउन प्रदेशभरका प्रहरी कर्मचारीहरूको बिदा स्थगित गरिएको छ । जिल्ला प्रहरी प्रमुखदेखि सामान्य प्रहरी कर्मचारीसम्म सबैलाई तत्काल लागू हुने गरी बिदा रोक्का गरिएको प्रहरीले जनाएको छ । यससँगै सबै कर्मचारीलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा बस्न निर्देशन दिइएको छ ।