सुदूरपश्चिम प्रदेश सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर

सुदूरपश्चिम प्रदेश सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर Ramaroshan
२०८२ चैत्र २० गते
सुदूरपश्चिम प्रदेश सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले सचिवालयमा कार्यरत कर्मचारीका सेवा सुविधा हेरफेर गर्ने निर्णय गरेको हो । त्यसका लागि सरकारले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची हेरफेर गर्ने निर्णय गरेको छ । स्वकीय सचिवालयका कर्मचारीको पारिश्रमिक तथा सुविधा हेरफेर गर्नका लागि ऐनको अनुसूची हेरफेर गर्न लागिएको जनाइएको छ ।

यस्तै प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची–२ मा पनि हेरफेर गर्ने निर्णय सरकारले गरेको छ । यो अनुसूचीमा कानुनी सल्लाहकार, स्वकीय सचिव, स्वकीय सचिवालय कर्मचारी, कार्यालय सहयोगी, हलुका सवारीचालक, निजी सचिवालयको बन्दोबस्त, अतिथि सत्कारसम्बन्धी सेवा सुविधा उल्लेख छ । 

मन्त्रीपरिषद् बैठकले प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पास गरी गत असार १५ गते राजपत्रमा प्रकाशित गरेको थियो । यस्तै बाजुराको हिमाली गाउँपालिकाका भवन निर्माणसम्बन्धी कार्यक्रमलाई ससर्त अनुदानका रूपमा हस्तान्तरण गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।  

मन्त्रीपरिषद् बैठकले डोटी अस्पताल विकास समितिको अध्यक्षमा भरत बोहोरा र अछाम अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा लीलाराज केसीलाई नियुक्त गरेको छ ।