परराष्ट्र मन्त्रीले काठमाडौँमा उठाइन् धनगढी फाप्लाको खेलकुद ग्रामको प्रसङ्ग

परराष्ट्र मन्त्रीले काठमाडौँमा उठाइन् धनगढी फाप्लाको खेलकुद ग्रामको प्रसङ्ग Ramaroshan
२०८२ असार ०१ गते
परराष्ट्र मन्त्रीले काठमाडौँमा उठाइन् धनगढी फाप्लाको खेलकुद ग्रामको प्रसङ्ग

धनगढी,२९ जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँमा आयोजित नेपाल भारत संवाद सम्बन्धी एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलकूद ग्राम निर्माण हुने खेलकुद गाउँका विषयमा कुरा उठाउनुभएको छ ।

उहाँले सो कार्य क्रममा भन्नुभयो “नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो हो र हामीबीच धेरै कुरामा सहकार्य र साझेदारी हुँदै आएको छ । फाप्लामा खेलकूल ग्राम निर्माण गर्नेगरी भएको समझदारीले पनि हाम्रो संयुक्त सहकार्यको उदाहरण पेश गर्दछ । सो समझदारीले पनि हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ ।”

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो खेलकूद ग्रामका लागि भारत सरकारले सहयोग गर्ने भएको हो ।

यस विषयमा परराष्ट्रमन्त्री डा राणा भारत भ्रमणमा गएका बेला तथा काठमाडौँमा हुने द्विपक्षीय भेटवार्ताहरुमा समेत गरी पटक पटक कुरा उठाउँदै आउनुभएको छ । उहाँ भारत भ्रमणमा पुगेका बेला भरतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि उहाँले सो खेलकूद ग्रामका विषयमा कुरा उठाउनुभएको थियो ।