डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले भने ‘एक वर्ष पछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले भने ‘एक वर्ष पछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’ Ramaroshan
२०८२ असार १८ गते
डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले भने ‘एक वर्ष पछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

धनगढी १८ असार । गृहमन्त्री रमेश लेखकले एक वर्ष पछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धनबाटै देउवा प्रधानमन्त्री बन्ने बताए ।

‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ’ उनले भने ‘८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’

उनले कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको बताए । उनले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए ।

‘मान्छेका आ–आफ्नो राजनीतिक उदेश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला’ उनले भने ‘मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो । यो कुरा विस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ ।’

उनले सरकार र विपक्षी दलबीचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेको उनको भनाइ छ । सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले भनाइ थियो ।